Banner News

प्रम ओली कुशल र अनुभवी पाइलट, जहाज सही अवतरण गर्छ : मन्त्री भट्टराई



तनहुँ, २१ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओलीलाई कुशल र अनुभवी पाइलटको सङ्ज्ञा दिँदै प्रम ओलीको नेतृत्वको वर्तमान सरकारको जहाजले सही अवतरण गर्ने दावी गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओली नेतृत्वको सरकार सही बाटोमा रहेको दावी गर्दै सरकार गलत बाटोमा नरहेको जिकिर गर्नुभयो ।

मन्त्री भट्टराईले भन्नुभयो, ‘सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारा बाटो आउँछ, अवरोध आइपर्छ, त्यस्ता अवरोध हटाउँदै अगाडि बढ्नुपर्छ ।’

मन्त्री भट्टराईले नेकपाको आकाश सफा र धर्ती उर्वर रहेको बताउँदै पार्टी एकीकरणलाई भावनात्मक बनाउन हालै सम्पन्न केन्द्रीय कमिटी बैठक सफल भएको भन्दै उहाँले बैठकले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउन सफल भएको चर्चा गरे ।

उहाँले भन्नुभयो, ‘बैठक अगाडि नेकपाको आकाशमा केही बादलहरु थिए, हावाहुरी पनि चलेको थियो । बैठकले ती बादलहरु सफा गरिदिएको छ, नेकपाभित्र अब हावाहुरी चल्नेवाला छैन, नेकपाको आकाश सफा छ, धर्ती उर्वर छ ।’