काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजना अनुरूप समग्र तयारीमा जुट्न सम्बद्घ मन्त्रालय र निकायहरूलाई निर्देशन दिएका छन ।
आज प्रधानमन्त्री निवास, बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरू सहितको विशेष बैठकमा प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्द रूपमा सम्पन्न गर्न ध्यानाकर्षण गरेका छन ।
उनले उक्त बैठकमा नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन र शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्ना समेत निर्देशन दिएका छन ।
सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरे भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराए । नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्