राजनीति

स्नातकोत्तर पढेर विदेशमा भाँडा माझ्न जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना



पर्वत, २६ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्नातक र स्नातकोत्तर पढे पनि रोजगारी पाउन नसकेर विदेशमा भाँडा माझ्न जानुपर्ने बाध्यताको अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

पर्वतको कुश्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सव तथा २६औँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकले आर्थिक समृद्धि हासिल गर्नका लागि स्वरोजगार बनाउने व्यावसायिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । युवालाई स्वरोेजगार बनाउन सक्ने व्यावसायिक शिक्षाबाट मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने उहाँले बताउनुभयो ।

उहाँले फरक प्रसङ्गमा बोल्दै आफनो कार्यकालभित्र पर्वतका सात वटै पालिकाका ६२ वटै वडासम्म पुग्ने सडकलाई पक्की गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । कुश्माबजारलाई ज्ञादीसँग जोड्न झाप्रेबजार र बलेवासँग जोड्न कल्लेरीमा मोटरेबल पुल बन्न लागेको जानकारी दिँदै उहाँले सडकको सहज पहुँच भएपछि कुश्माबजारलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।