काठमाडौँ, २६ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगतमा भएका भ्रष्टाचारको फाइल उठाउने वित्तिकै प्रमुख प्रतिपक्षी दलका अधिकाशं नेताहरु कारवाहीमा पर्ने बताउनुभएको छ ।
शनिवार अष्ट्रेलियाको सिड्नीमा प्रबासी नेपाली एकता मंचले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद बस्नेतले वर्तमान सरकार भ्रष्टाचार मुक्त तथा सुशासन युक्त मुलुक निर्माण गर्ने अभियानमा लागेको बताउँदै छानविनमा ठूला–साना भन्दैमा कसैलाई छुट नहुने बताउनुभयो । म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै विधिको शासन शुरु गरेको उल्लेख गर्दै उहाँले अख्तियारले भ्रष्टाचारको विषयमा गर्ने छानविन यो पार्टी र त्यो पार्टी भन्दैमा कसैलाई छुट नहुने स्पष्ट पार्नुभयो ।
तत्कालिन भौतिक मन्त्री विजयकुमार गच्छदारले ललिता निवासको १ सय ९९ रोपनी जग्गा कब्जाको विषयमा निर्णय गराउनुभएको विषयलाई अख्तियारले गम्भीर रुपमा अनुसन्धान गरी मुद्धा चलाएको बताउँदै उहाँले भन्नुभयो, ‘कांग्रेसले हाम्राले गरे चमत्कार, अरुले गरे बलात्कार’ भन्ने ? हिजो किन मुद्धा चलाएन सरकारले ? भनि प्रश्न गर्नेहरु अहिले किन चलायो भन्दै प्रश्न गरिरहेका छन् ।’
ललिता निवासको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रतिपक्षी दलका उपसभापति विजयकुमार गच्छदारलाई कानुनी दायरामा ल्याएको विषयमा कांग्रेसले सडक तथा सदनमा गरेको आन्दोलनलाई लक्षीत गर्दै आफुले गरे सवैथोक राम्रो र अरुले गरे सवै थोक नराम्रो भन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘कांग्रेसका नेता गच्छदार मात्र हैन, दोषी देखिएका सवैलाई कारवाही हुन्छ । अदालतले आवश्यक ठाने विष्णु पौडेलका छोरा नविन पौडेललाई नेकपाले नै अदालतमा उभ्याउँछ । मेरालाई किन गरिस् र तेरालाई किन गरिनस् भन्ने हैन, कसले गल्ती गरेको छ, उसलाई कारवाही हुन्छ ।’
अध्यक्ष ओली तथा प्रचण्ड नेपाली इतिहासको स्वर्ण अक्षरले लेखिएको पात्र भएको उल्लेख गर्दै उहाँले नेकपा जनताको समृद्धिको चाहना पुरा गर्ने दिशा तिर अघि बढिरहेको समेत स्पष्ट पार्नुभयो । समाजवाद उन्मुख कार्यको लागि आगामी दिनमा हुने आर्थिक, सामाजिक, सास्कृतिक लगायतका कार्यहरु हुनुपर्नेमा जोड दिँदै उहाँले आगामी पार्टीको एकताको महाधिवेशनसम्ममा समाजवाद उन्मुख भइसक्ने पार्टीको लक्ष्य रहेको समेत जानकारी गराउनुभयो ।
अमेरिकी सरकारले अल्पविकसित तथा अविकसित मुलुकलाई सहयोग गर्ने लक्ष्यका साथ अघि सारेको एमसीसीको विषयमा कतिपय अवस्थामा स्वाभाविक हुने प्रकारका तथा कतिपय अवस्थामा अस्वभाविक तथा अनावश्यक रुपमा समेत चर्चा परिचर्चा भइरहेको उल्लेख गर्दै उहाँले नेकपाले बनाएको तीन सदस्यीय आयोगले दिएको सल्लाह अनुसार एमसीसी प्रकृया अघि बढ्ने बताउनुभयो ।
इण्डोप्यासिफिकको अंग भए स्वीकार गर्न नसकिने तर उक्त सहयोग इण्डोप्यासिफिकको अंग नभएको नेताहरुले स्पष्ट पारेको बताउँदै उहाँले उक्त सहयोग विद्युत तथा सडक स्तरउन्नतीको लागि उक्त सहयोग प्रयोग हुने जानकारी गराउनुभयो ।
सरकारले राष्ट्रिय गौरवका आयोजनाहरु अन्तराष्ट्रिय एयरपोर्ट, मदनभण्डारी मार्ग, पूर्वपश्चित राजमार्ग, शुरुङ मार्ग, औद्योगीक क्षेत्रको विकास लगायतका कार्यहरु शुरु गरिरहेको, परराष्ट्र नीतिलाई व्यवस्थित तवरले अघि बढेको जानकारी गराउँदै उहाँले आयात घट्दोदरमा रहेको तथा निर्यात घट्दो साथै विदेश जाने युवाको संख्या घटेको साथै रेमिट्यान्स भने बढेको बताउनुभयो ।
कार्यक्रममा महिाला तथा सामाजिक समितिका सभापनि निरुदेवी पाल, राष्ट्रिय युवा संघ नेपालका वरिष्ठ नेता किरण पौडेललगायको उपस्थिती रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्