विश्व

अफगानी सैनिकको गोली प्रहारबाट दुई अमेरिकी सैनिकको मृत्यु



एजेन्सी, २७ माघ । अफगानी सैनिकले चलाएको गोली लागेर अफगानिस्तानमा तैनाथ दुई जना अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अरु ६ जना घाइते भएका छन् ।

अमेरिकी सेनाका अनुसार अफगानिस्तानको पूर्वी नान्गारहार प्रान्तमा शनिबार उक्त दुःखद घटना भएको हो । शरजाद जिल्लाको सैनिक अखडामा अमेरिकी र अफगान कमान्डोहरुले तालिम गरिरहेका बखत अफगान सैनिक कमान्डोले गोली चलाएका थिए ।

अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता सोन्नी लेगिटले आइतबार जारी गर्नु भएको वक्तव्यमा अफगानी सैनिकले चलाएको गोलीबाट अमेरिकी सैनिकको मृत्यु भएको र केही घाइते भएको उल्लेख छ ।

प्रान्तीय गभर्नर शाह महमूद मियाखिलले अफगान सैनिकको आक्रमणबाट तीन जना अफगान सैनिक पनि घाइते भएको बताउँदै घटनाको अनुसन्धान शुरु गरिएको जानकारी दिए ।