राजनीति

‘तपस्वी’ बम्जन तीन वर्षका लागि महाध्यानमा



काठमाडौँ, २८ माघ । ‘तपस्वी’ रामबहादुर बम्जन सिन्धुलीमै गत असारदेखि तीन वर्षका लागि महाध्यानमा बसेको बोधी श्रवण धर्म संघले जनाएको छ ।

पत्रकार सम्मेलन गरी बम्जन फरार रहेको भनी गलत प्रचार भएको भन्दै तपस्वी’ बम्जन महाध्यानमा बसेको संघले जनाएको छ । तपस्वी बम्जनमाथि १८ वर्षीय आनीलाई बालयौन दर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ गर्न आदेश दिएको र सोहीअनुसार बम्जनलाई पक्राउ गर्न गत माघ २४ गते प्रहरीको टोलीले सिन्धुलीस्थित उनको आश्रममा प्रवेश गरेको थियो ।

तर बम्जन नभेटिएको भन्दै प्रहरी रित्तो हात फर्केको थियो । तर संघले भने प्रहरीले आश्रममा तोडफोड गरेको आरोप लगाउनुका साथै शान्त तथा शालीन मैत्रीय वातावरणमा धार्मिक स्थलमा छापा मारेको भन्दै संघले दुःख व्यक्त गरेको छ । प्रहरीले कानुनको धज्जी उडाई न्युनतम क्षेत्राधिकारको वास्ता नगरी धार्मिक स्थलमा यस प्रकारको ज्यादतीले आफूहरुलाई गम्भीर बनाएको संघको भनाइ छ । यदि आफूहरुले कानुनविपरीत कुनै कार्य गरेको भए सजाय भोग्न तयार रहेको जनाएको छ ।

बम्जन भगवानको अवतार रहेको भन्दै अदालत तथा प्रहरीमा समय आएपछि आफैँ गएर जवाफ दिन जाने थिङ्गले बताए ।