समाचार

मुख्यमन्त्री कार्यालयका चालकसहित ३ जना पक्राउ



कैलाली, २९ माघ । प्रहरी निरीक्षक हुँ भन्दै ठगी गर्ने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका चालकसहित तीन जना पक्राउ परेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सवारी चालकका रुपमा रहेका किसन सिजापतिसहित तीन जनालाई नक्कली प्रहरी निरीक्षक बनेर धनगढीमै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुर पुनर्वास नगरपालिका-५ घर भइ धनगढी उपमहानगरपालिका-१ बस्ने मुख्यमन्त्री मन्त्रिपरिषदको कार्यालयका सवारी चालक ३३ वर्षीय किसन सिजापति, बझाङको खप्तड छान्ना गाउँपालिका- १ घर भइ धनगढी उपमहानगरपालिका-७ मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी र धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने वर्ष ३५ का गौरव हमाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरीको हो र आफूहरू जिल्ला प्रहरी कार्यालयबाट आएका हौं भन्दै दुई हजार पाँच सय रकम असुली गरेको गुनासो आएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।