Banner News

सही विचार र नेतृत्वले ठूल्ठूला फड्को मार्न सकिन्छ : अध्यक्ष दाहाल



काठमाडौँ, १ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र सही नेतृत्वले इतिहासमा ठूल्ठूला फड्को मार्न सक्ने बताएका छन् ।

आज जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमा यति छिटो संविधान घोषणा भइहाल्ला, शत्रुतापूर्ण अवस्थामा रहेका मुख्य पार्टीहरु एकतामा आइहाल्लान् र दुई तिहाई ल्याइ हाल्लान् भनेर कसैले सोच्न नसकेको बताए । सही विचार लिएकै कारण त्यो सम्भव भएको उनले बताए ।

उनले तत्कालीन अवस्थामा माओवादीले सुरु गरेको जनयुद्ध सम्भव होला भन्ने कसैले पनि नसोचेको बताउदै उनले भने, ‘यसले संविधान सभा जन्माउला, गणतन्त्र नेपाल स्थापना गराउला भन्ने थिएन ।’

उनले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेको बताउदै उनले भने, ‘ठूल्ठूला फौजी आक्रमण गरिदिनुप(यो भन्नुहुन्थ्यो,’ यसले नै राजतन्त्र अन्त्य गर्ने वातावरण बन्यो ।’

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल सहभागी थिएनन् । उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा (बादल)लगायतका नेताहरु सहभागी थिए ।