सिन्धुली, ३ फागुन । नेपाल विद्युत प्रधिकरण, विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धक इन्जिनियर शेरबहादुर सुनार घुससहित पक्राउ परेका छन् ।
कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सुनार शुक्रबार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार इन्जिनियर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खडकालाई लिन पठाएका थिए ।
उक्त घुस रकम लिएर खड्का भाग्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले कमलामाई नगरपालिका(७ गैरी चौकबाट उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । इन्जिनियर सुनारलाई भने उनकै कार्यालयबाट पक्राउ गरिएको कोइरालाले बताउनुभयो ।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्