Banner News

सरकारका मिडिया प्रतिपक्षीकै स्वर बोक्ने तहमा पुग्छन् : मन्त्री खतिवडा



काठमाडौँ, ५ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आफ्ना धारणा सार्वजनिक गर्ने माध्यम ‘सरकारी मिडिया’समेत अब सस्तो लोकप्रियताको पछि लाग्न थालेको बताएका छन् ।

आज सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री डा। खतिवडाले सस्तो लोकप्रियताका लागि अब सरकारी मिडियाले समेत प्रतिपक्षी कै स्वर बोक्न थालेको बताए ।

उनले भने, ‘केन्द्रले समसामयिक विषयमा बहस चलाओस्, किनकी विपक्षीलाई मिडिया वा सडकमा समेत आवाज उठाउने फोरम छ, सरकारको छैन, ‘सरकारका फोरम सिमित हुन्छन्, सरकारका मिडिया प्रतिपक्षीकै स्वर बोक्ने तहमा पुग्छन्, त्यो देखिराखेको छ, सस्तो लोकप्रियताका लागि पनि त्यसो गरेको होला ।’

मन्त्री खतिवडाले आर्थिक वर्ष २०६७र६८ सालको एक संयोगको उदाहरण दिँदै तालिम केन्द्र सरकारको धारणा सार्वजनिक बन्ने फोरम हुनुपर्ने बताए । २०६७/६८ सालमा बैंक तथा वित्तीय संस्थाका सीइओको भाउ अहिलेको शेयर बजार जस्तै बढेको उदाहरण दिँदै मन्त्री खतिवडाले आफू राष्ट्रबैंकमा रहँदा सीइओको तलवमा हस्तक्षेप गरेको समेत बताए  ।

उनले भने,  ‘त्यसबेला बैंक तथा वित्तीय संस्थाका सीईओको भाउ अहिलेको शेयर बजार जस्तै बढेको थियो । आज १० लाख, भोली ११ लाख, पर्सी १२ लाख, १५, १६ लाख हुँदै महिनैपिच्छे बैंकका सीइओको तलव सुवधा बढ्दै गयो । यस्तो भयो की कसले कसलाई अक्सनबाट कसले लैजान्छ, टुङ्गो नै नलाग्ने भयो । यसबाट अस्थिरता यतिसम्म भयो की त्यसको कुनै सीमा थिएन ।’