दार्चुला, ६ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हिजोको दिनमा मुलुकको आर्थिक तथा रोजगारीको मेरुदण्डको रुपमा रहेका उद्योगहरु बेच्नेले अहिले आएर आफै बेचिएका उद्योगको बारेमा ठूला ठूला कुरा गरिरहेको उल्लेख गर्नुभएको छ ।
दार्चुलामा भएको कार्यकर्ता भेटघाटको क्रममा उहाँले विपक्षी दल नेपाली कांग्रेसप्रति इंगित गर्दै कम्युनिष्ट पार्टीले जितेको खपिसक्नु नभएको बताउनुभयो । नेकपा नेतृत्वको सरकारले मुलुकलाई विकास र समृद्धको यात्राहरु तिव्र अघि बढ्दै देशमा रहेका विकृति, विसंगतिको अन्त्य गर्दै शुसासनको स्थापना गर्न सफल भएको दावी गर्नुभयो । उहाँले भ्रष्टाचारको अन्त्य गर्न तथा ठूला माछालाई समेत कारवाही गर्न सफल भएको बताउँदै भ्रष्टाचारीलाई कारवाही गर्न मेरो वा तेरो भन्ने नहुने स्पष्ट पार्नुभयो ।
विपक्षलाई जवाफ दिन जनताको विश्वास जित्नेबाहेक अर्को कुनै विकल्प नभएको बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “कम्युनिष्ट विरोधीले सरापे पनि देश अघि बढ्छ । पार्टी एकढिक्का हुनुको विकल्प छैन । हिजोका कुरा बिर्सिदिनुस्, को कहाँ हुनुहुन्थ्यो । हिजोको कुराले शिक्षा र अनुभव दिन्छ । अरु केही दिँदैन । योग्यता, क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ ।”
भारतसँग आँखा जुधाएर कुरा गर्ने बताउँदै उहाँले भन्नुभयो, “हामीले आँखा जुधाएर कुरा गर्छौं । सन् १८१६ पछि पहिलोपटक सीमा मिचिएकोबारे कूटनीतिक नोट पठाएका छौं । अब यही आधारमा तथ्य देखाएर भारतसँग आँखा जुधाएर कुरा गर्छौं । नेपालको भूमि कसरी मिचियो, तथ्य देखाएर कुरा गर्छौं ।”










प्रतिक्रिया दिनुहोस्