राजनीति

नेपाललाई अबको केही वर्षमा नै ‘विकासोन्मुख मुलुक’ घोषणा गर्छौं : प्रम ओली



काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्दै सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गरी विकासोन्मुख मुलुक बनाउने सरकारले संकल्प लिएको उल्लेख गर्नुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा आज सम्पूर्ण नागरिकमा शुभकामना दिँदै उहाँले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भई योगदान गर्न देशवासीमा आग्रह गर्नुभएको हो । वर्तमान सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा अग्रसर रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताउनुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, ‘यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामाथ्र्यको सदुपयोग गरिरहेका छौँ । यस यात्राबाटै हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्दैछौँ । ‘आज हामी मुलुकलाई गरिबीबाट सम्पन्नतिर, अविकसितबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेका छौँ । जनताको त्यही सङ्घर्षबाट प्राप्त लोकतन्त्रको आधार भूमिमा टेकेर अहिले हामी मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढिरहेका छौँ ।’

लामो समयदेखिको सङ्क्रमणकालबाट मुलुक सुशासन र विकासको दिशामा अग्रसर रहेको उल्लेख गर्दै उहाँले प्रजातन्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहना सफलताको दिशामा अभिमुख रहेको प्रष्ट पार्नुभएको छ ।

समाज, राजनीति र शासन प्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा आजको दिनलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण सङ्घर्षमा आफूलाई समर्पित गर्ने शहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, ‘जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातन्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने शहीदप्रति श्रद्धासुमन अर्पण गर्दछु ।’