काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले समाज, राजनीति र शासनप्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दूका रूपमा वर्तमान समय आइपुगेको बताउनुभएको छ ।
७० औँ प्रजातन्त्र दिवसका अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकलाई गरिबीबाट सम्पन्नतातिर, पछौटेपनबाट विकासतिर, अब्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रको आजको यस अभियानलाई अनुप्राणित गर्ने लक्ष्यको बिजारोपण आजभन्दा ७० वर्षअघि आजकै दिन, अर्थात् फागुन ७ गते भएको थियो । त्यसैले औपचारिकता निर्वाहबाट माथि उठेर यस दिनको गरिमालाई आत्मसाथ गर्न म दिदीबहिनी दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु ।’
उहाँले संविधान जारी भएपछि आयोजित आम निर्वाचनद्वारा बनेको यस सरकारले भर्खरै आफ्नो कार्यकालको दुईवर्ष पूरा गरेको र गत वर्षलाई आफूले सरकार सञ्चालनको आधार वर्षको रूपमा चर्चा गरेको स्मरण गराउनुभयो ।
अहिले आफूहरुले संविधान बमोजिमका संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्त व्यवस्थापन, कानून तथा जनशक्ति समायोजन गरेर अगाडि बढिरहेको बताउनुभयो । साथमा अहिले सोही आधारभूमिमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर रहेको पनि बताउनुभयो ।
त्यस्तै उहाँले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान विस्तार गरिरहरेको बताउँदै भन्नुभयो, ‘हामीप्रति विश्वजगतको ध्यानाकर्षण भएको छ । हामी विश्वमञ्चमा देखिन र सुनिन थालेका छौं । यसबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा अहिले नेपालको प्रतिष्ठा र गरिमा बढेको छ ।’










प्रतिक्रिया दिनुहोस्