समाचार

दुर्घटनामा परी भारतमा मृत्यु भएका १० नेपालीको सनाखत



काठमाडौँ, १० फागुन । भारतको बैंगलरुमा मिनिबस दुर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ इटहरीका अनुसार मृत्यु हुने सबै सुनसरीको इटहरीका हुन् ।

माघ २३ गते तीर्थयात्रामा गएका नेपाली थीर्थयात्रु सवार बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० वर्षीय रसिलाल चौधरी, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीया मञ्जु राई रहेका छन् । त्यस्तै, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको पनि मृत्यु भएको छ ।

बसमा ३४ जना यात्रु सवार थिए । ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अरुको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।