काठमाडौँ, १२ फागुन । पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्न पुग्दा दङ्ग हुनुभयो । आफू ५० वर्षअघि कुम्मायककै यासोकमा पुग्दा तमोरबाट डोकोमा बोकेर खानेपानी प्रयोग गर्नुपर्ने विकराल अवस्थाको प्रधानमन्त्रीले स्मरण गर्नुभयो ।
“पचास वर्षअघि यो बाटो हिँड्दा तल सिटौलाको पुल तरेर रानीगाउँसम्म आइपुग्दा त्यो उकालोमा डोकामा पानी बोकेर ल्याउनुपर्ने कुरा मैले देखेको छु, मैले भोगेको थिएँ । यी ठाउँहरुमा कसरी खानेपानी पु¥याउने होला भन्ने त्यो चिन्ता थियो”, यी स्थानमा बिजुली, बाटो र खानेपानी पुगेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यहाँ मोटरहरुबाट हिँड्न पाउँदा, यहाँ खानेपानीको धारा सरर बग्न पाउँदा, यहाँ विद्युत् उद्घाटन गर्न पाउँदा मलाई त अघि नै च्याब्रुङसँगै नाचौँ नाचौँजस्तो लागेको थियो ।” उहाँले यो अवस्था आफ्ना लागि औधि खुशीको क्षण रहेको बताउनुभयो ।
यासोक बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्दा वार्षिक रु एक करोड २० लाख शुल्क उठ्ने र उक्त शुल्क तिर्न कठिन पर्ने भन्दै मिनाहा गरिदिन स्थानीयवासीले माग गरेका थिए । उक्त मागमा सकारात्मक प्रधानमन्त्रीले भन्नुभयो, “देश अलि सम्पन्न भएपछि विद्युत् शुल्क तिर्न पनि कुनै समस्या पर्दैन, तैपनि म सकारात्मक छु ।”
खानेपानीको समस्या हल भएकामा प्रधानमन्त्री ओलीले कुम्मायकका महिलालाई बधाई दिनुभयो । “खासगरी दिदीबहिनीहरुलाई बधाई भन्न चाहन्छु, जसले टाढाबाट दुःखका साथ पानी बोकेर ल्याउनुपथ्र्यो । आवश्यक पर्ने जति पनि पानी खर्च गर्ने बेलामा ढाड भाँचिनेगरी पानी बोक्दाको दुःख सम्झनुपथ्र्यो । त्यो अब हटेको छ ।” यो खबर आजको गोरखापत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्