Banner News

नेपाल ट्रष्टको सम्पत्ति सरकारले जारी गर्‍यो, क –कसले कति प्रयोग गरे ?



काठमाडौँ, १३ फागुन । सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ ।

आज उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आयोजित पत्रकार सम्मेलन गरि श्वेतपत्र जारीगर्दे नेपाल ट्रष्टमा कति सम्पति रहेको र त्यसलाई क–कसले प्रयोग गरिरहेको जानकारी दिएका हुन ।

नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको छ । ट्रस्टको सबैभन्दा बढी जग्गा धादिङमा छ । धादिङमा कुल जग्गाको ७० प्रतिशत छ भने काठमाडौंमा २१ दशमलब ६१ प्रतिशत अर्थात् ४ हजार ४ सय ४२ रोपनी जग्गा रहेको छ ।

तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ ।  दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, छाउनी लगायतका ठाउँका जग्गा व्यापारिक प्रयोजनमा लिज र भाडामा दिइएका छन् । नेपाल ट्रष्टको घरजग्गा प्रयोग गर्नेमा थामसेर्कु ट्रेकिङ, टाउन डेभलपर्स, कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंक लगायतका निजी कम्पनीहरु रहेका छन् ।

काठमाडौँमा रहेका घरजग्गा भने मोहीले बसोबास र खेती प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको छ भने ताहाचलमा बिभिन्न सरकारी कार्यालयहरुले न्युनतम भाडा तिरेर बसेका छन् ।

२०६४ सालमा नेपाल ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनका परिवारका नामबाट ट्रष्टमा ल्याइएको थियो । सम्झौता २०६६ पुस र माघमा मन्त्रिपरिषदबाट गराइएको पाइएको छ ।

यसैगरी टेकुमा ट्रस्टको १९ रोपनी जग्गा छ । कालीमाटी–टेकु गणेशमान पथमा अवस्थित चारैतर्पm कम्पाउन्ड वालले घेरिएको टाउन डेभलपर्स प्रालिद्वारा सञ्चालित काठमाडौं बिजनेस कम्प्लेक्सका नाममा आधुनिक भवनहरू पूर्ण व्यापारिक प्रयोजनमा भाडामा प्रयोग भइरहेको छ । सो जग्गा लिजमा दिइएको देखिएको छ । बालाजुमा काठमाडौं–त्रिशूली जाने बाटोसँग जोडिएको व्यापारिक प्रयोजनयोग्य १ सय २२ रोपनी जग्गा ट्रस्टको हो । सो जग्गा हाल खाली छ ।

भक्तपुर, ललितपुर, नुवाकोट, मकनवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धनकुटा, सुर्खेत, कास्की, चितवन र धादिङमा तत्कालिन राजपरिवारको जग्गा जमिन पाइएको छ । श्वेतपत्रमा दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई लिजमा दिदा क्रमश पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको उल्लेख गरिएकोे छ ।