भक्तपुर, १४ फागुन । पूर्वउद्योगमन्त्री तथा प्रतिनिधीसभा सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरि चीनबाट फर्काइएका नेपालीहरुसंग यहाँको अबस्थाबारे जानकारी लिनु भएको छ ।
सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुको बारेमा जानकारी लिन पुग्नु भएका पूर्वमन्त्री एवं सांसद बस्नेतले क्वारेन्टाईन भित्र रहेका नेपालीहरुसंग त्यहाँको अबस्थाबारे जानकारी लिनु भएको हो । उहाँले क्वारेन्टाईन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माईक मार्फत भित्र रहेका नेपालीहरुसंग सिसि क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गर्नु भएको हो ।
सांसद बस्नेतसंगको कुराकानीमा क्वारेन्टाइनमा रहेका डा. समिर भट्टराई, डा. गौरब पोखरेल, सकिल रेग्मीले क्वारेन्टाईनमा सरकारले गरेको व्यबस्था उत्कृष्ट रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सिंगो सरकारलाई धन्यवाद सुनाईदिनु भनेका छन् ।
उहाँहरुले–‘हामी यहाँ सुरक्षित छौ, हामीलाई आवश्यक परेको कुनैपनि सामान तुरुन्तै पाउने गरेका छौ, यहाँ भएकाहरुका परिवारले कुनै चिन्ता लिनु पर्दैन, हामी खुसी छौ, बरु स्थानीय बासिन्दमा फैत्रिएको त्रासले हामीलाई चिन्तित बनाएको छ भन्नुभएको थियो ।’ स्थानीय बासिन्दामा रहेको त्रास हटाउन सबैले सहयोग गरिदिन पनि उहाँहरुले कन्ट्रोल रुपमा रहेको फोन र माईक मार्फत भिडियो हेर्दै सुझाब दिनुभएको थियो ।
सांसद बस्नेतसंग उनीहरुले यहाँबाट निस्किएर परिवारसंग भेट्ने दिनमा सरकारी निकायका व्यक्ति, जनप्रतिनिधीहरु नै आएर विदाई गरि देशभर सकारात्मक सन्देश फैलाउने व्यबस्था गरिदिन पनि आग्रह गरेका छन् । क्वारेन्टाइनमा रहेका चीनबाट फर्किएका नेपालीहरु सरकारले गरेको व्यबस्थाप्रति निकै खुसी भएको र यहाँको अबस्था कुनै पनि चिन्ता लिनुपर्ने र आत्तिनु पर्ने अबस्थामा नरहेको पूर्वमन्त्री एवं सांसद बस्नेतले बताउनुभयो ।
सांसद बस्नेतले चीनमा भययुक्त वातावरणमा असुरक्षा महसुस गरेका नेपालीले आफ्नो देश फर्किएर क्वारेन्टाइनमा बस्दा निकै खुसी भएको र सबै त्रास हटेको प्रतिक्रिया पाएको जानकारी दिनुभयो । उहाँलाई नेपाली सेना बीरदल गणका गणपति कर्नेल शिव पौडेलले यहाँको अबस्थाबारेमा जानकारी दिनुभएको थियो भने कन्ट्रोल रुमबाट भित्र रहेका नेपालीसंग कुराकानी गराउनु भएको थियो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले भित्र रहेका नेपालीबाट कुनै पनि कुराको माग हुने बित्तिकै यहाँको सुरक्षाको नेतृत्व गर्नु भएका कर्णेल पौडेलले आफ्नै व्यक्तिगत खर्च समेत गरेर भएपनि माग अनुसारको सामान पठाईदिने गरेको जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्