राजनीति

सरकारको नाममा २८४ बिघा जग्गा फिर्ता : मन्त्री अर्याल



काठमाडौँ, १६ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २८४ बिघा ५ कठ्ठा १५ धुर जग्गा नेपाल सरकारको नाममा ल्याएको बताएकी छन् ।

आज मन्त्री अर्यालले शुक्रबार आफ्नो कार्यकालमा भएका उपलब्धी सार्वजनिक गर्दै १८ भदौ २०७५ मा मन्त्री बने यता विभिन्न कारणले व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता गरेको उनले जानकारी दिइन् ।

उनका अनुसार सरकारी जग्गा संरक्षणका लागि छानबिन गर्न गठित सरकारी, सार्वजनिक, गुठी जग्गाको संरक्षणसम्बन्धी जाँचबुझ आयोले बुझाएको प्रतिवेदन कार्यान्वयनको चरणमा छ ।

मन्त्रालयले गुठी विधेयक लगायतलाई समेटेर एकीकृत भूमि ऐन ल्याउने तयारी गरेको छ । उनले भनिन्, ‘गुठीयारहरू सबै खुशी छन् । मन्त्रालयले तयार गरेको विधेयकको मस्यौदा हेरेर गुठीयारहरूले अब भावना मिल्यो भनेका छन् ।’

आफ्नै स्रोत र जनशक्ति प्रयोग गरेर सरकारले सगरमाथाको उचाई मापन गरेको छ । उचाई मापन सम्बन्धी ९० प्रतिशत काम सम्पन्न भइसकेको मन्त्री अर्यालले जानकारी दिइन ।