ललितपुर, १८ फागुन । गालाको क्यान्सर भएर अनुहार नै चिन्न नसक्ने भएका महोत्तरीका ४० वर्षिय विपन्न क्यान्सररोगी अलिम कवाडीको उपचारको लागि हाल तोयोहाशी, जापान निवासी चाँगुनारायण नगरपालिका, छायाँवस्ती, छालिंगकी लक्ष्मी थापामगरले २१ हजार रुपैया आर्थिक सहयोग गरेकी छिन् ।
वरिष्ठ पत्रकार बलराम प्यासीको पहलमा समाजसेवी थापामगरबाट प्राप्त भएको सो रकम पत्रकार प्यासीले नेपाल क्यान्सर सहयोग समूहकी संयोजक एवम् नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक स्वरुपा श्रेष्ठलाई नेपाल क्यान्सर हस्पिटलमा शनिबार आयोजित एक कार्यक्रममा हस्तान्तरण गरे । निर्देशक श्रेष्ठको अगुवाईमा सो अस्पतालमा विपन्न क्यान्सर रोगीहरुको उपचार हुँदै आएको छ ।
क्यान्सररोगी कवाडीको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिको ३१८ नं शैय्यामा राखेर उपचार हुँदैछ । उनको यही फागुन २१ गते बुधबार सो अस्पतालको हेड एण्ड नेक क्यान्सर विशेषज्ञ एवम् शल्य चिकित्सक डा. प्रभात ठाकुर सहितको विशेषज्ञ समूहले शल्यक्रिया गर्ने तयारी गरेको अस्पतालले जनाएको छ । यसअघि सो टोलीले २२ वर्षिया ज्योति राईको मुखको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो ।
क्यान्सररोगी कवाडीको उपचारको लागि नेपाल क्यान्सर सयोग समूह, उपचारका लागि सहयोगी हातहरु र रोटरी क्लव अफ यलले पनि आवश्यक पर्ने सहयोग रकम जुटाउँदै छ भने नेपाल क्यान्सर अस्पतालले उनको निःशुल्क शल्यक्रिया गरिदिने बताएको छ ।
उपचार रकमको अभावमा लामो समयदेखि रोग पालेर वस्न वाध्य विपन्न क्यान्सररोगी कवाडीको उपचारको लागि सहयोग जुटाईदिएकोमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ र निर्देशक स्वरुपा श्रेष्ठले वरिष्ठ पत्रकार प्यासीलाई धन्यवाद दिए ।
क्यान्सररोगी कवाडीको उपचारको लागि सहयोग गर्न चाहने दाताहरुले सो अस्पतालको बेड नं ३१८ मा सम्पर्क गर्न सकने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्