राजनीति

सञ्चार जगतले आलोचनात्मक भूमिका निर्वाह गर्न मन्त्री पाेख्रेलको आग्रह



काठमाडौँ, १८ फागुन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न संञ्चारमाध्यमलाई आग्रह गरेका छन  ।

आज काठमाडौँमा पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोख्रेलले सत्ता परिवर्तन नभई व्यवस्था नै परिर्वतन भएकाले परिवर्तित अवस्थालाई बुझेर भूमिका निर्वाह गर्न सञ्चारमाध्यमको ध्यानाकर्षण गराएका हुन ।

मन्त्री पोख्रेलले विगतमा निरन्तरको राजनीतिक अस्थिरतामा चलखेल गर्नेहरुको विकृत मनोदशा देखिन थालेको र नेपथ्यका तीनै पात्रहरुको भूमिकाका कारण राजनीतिक तहमा बसेका मान्छेहरु पनि मनोरोगी भएर प्रकट हुने गरेको बताए ।

उक्त कार्यक्रममा १ हजार डलर राशीको इञ्जा स्रष्टा सम्मानबाट नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा चुणामणी रेग्मी चुमरे लाई प्रदान गरिएको थियो । त्यसैगरी इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई संयुक्त रुपमा प्रदा गरिएको थियो । दुवैलाई जनही ५ सय डलर रुपैया प्रदान गरिएको छ ।

त्यस्तै उक्त कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ उनकी पत्नी अम्बिका पौडेललाई १४ लाख ११ हजार २ सय ४४ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको थियो ।