राजनीति

कांग्रेसमा फेरि विवाद



काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि तीव्र बन्न पुगेको छ। एक महिना लामो रस्साकक्सीपछि पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका विवाद सल्टाए पनि सभापति शेरबहादुर देउवाले विभाग र केही केन्द्रीय तथा आमन्त्रित सदस्य मनोनयनपछि विवाद तीव्र बन्न पुगेको हो ।

आफ्नो पक्षको सहमतिबिनै सभापति देउवाले भटाभट विभाग र केन्द्रीय सदस्य मनोनितप्रति संस्थापनइतर समूहले असन्तुष्टि जनाएको छ । त्यति मात्र होइन पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको नीति तथा प्रशिक्षण विभागले बुधबारदेखि पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको जिल्ला उपसभापतिको एक दिने प्रशिक्षण कार्यक्रम पनि बहिस्कार गरेका छन् ।

असन्तुष्ट पक्षले कार्यक्रम बहिस्कार गरे पनि निधि संयोजक रहेको समितिले उपलब्ध जिल्ला उपसभापतिलाई प्रशिक्षण भने दिएको छ ।

तर, असन्तुष्ट पक्षले भने १४ औं महाधिवेशन प्रभावित गर्न संस्थापन पक्षले प्रशिक्षणसहितका कार्यक्रम राखेको ठहर गरेको छ । त्यस्ता कुनै कार्यक्रममा पनि सहभागी नहुने निष्कर्ष निकाल्दै १४ औं महाधिवेशन केन्द्रित कार्यक्रमबाहेक अन्य कुनै कार्यक्रममा सहभागी नहुने र नहुन पनि निकटलाई आग्रह गरेको छ । ‘महाधिवेशनको कार्यतालिका आइसकेकाले त्यसलाई कसरी हुन्छ र्निधारित समयमा सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ,’ निकट नेताहरुको बुधबार बिहानको भेलामा नेता पौडेलले निकटसँग भने, ‘क्रियाशील सदस्यता बाँड्नुपर्ने जिल्ला सभापतिलाई प्रशिक्षणको नाममा काठमाडौं बोलाएर महाधिवेशन भाँड्न खोजिँदैछ, यस्ता कुराको हामीले विरोध गर्नुपर्छ । प्रतिवाद गर्नुपर्छ ।’

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहान असन्तुष्ट पक्षीय नेताहरु, उपलब्ध जिल्ला सभापति तथा उपसभापतिहरुको भेलामा सहभागीले सभापति देउवाले महाधिवेशन भएको दुई महिनाभित्र गठन गर्नुपर्ने विभागहरु अहिले भटाभट गठन गरेर महाधिवेशन प्रभावित गर्न लागि परेको पनि निष्कर्ष निकालेका छन् । निकटहरुलाई खुसी बनाउन विभागको संयोजक तोकिएको भन्दै असन्तुष्ट पक्षले त्यसको औचित्य नभएको भन्दै सहभागी नहुने निष्कर्ष निकालेको छ । यो समाचार आजको नागरिकमा छ ।