काठमाडौँ, २४ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र ऊजा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तबीच भेटवार्ता भएको छ ।
शुक्रबार भएको भेटवार्तामा राजदूत क्वात्राले वर्तमान सरकार गठन भएपछि ऊर्जा क्षेत्रमा राम्रो काम भएको भारतीय निष्कर्ष सुनाए । त्यसको वातावरण निर्माणमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा राजदूत क्वात्राले मन्त्री पुनको प्रशंसा गरे ।
अरुण तेश्रोको ३० प्रतिशत काम सम्पन्न भइसकेको चर्चा गर्दै उनले निर्धारित समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गरे । राजदूत क्वात्राले पहुँच मार्गको स्तरोन्नती, विस्फोटक पदार्थ आयात र सुरक्षामा ख्याल गरिदिन आग्रह गरे ।
मन्त्री पुन मन्त्रालयको नेतृत्वमा आएपछि नेपाल-भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । यस्तै भारतले छिमेकी मुलुकसँग विद्युत आयात निर्यातका लागि ल्याएको निर्देशिका परिमार्जन भयो ।
भेटमा मन्त्री पुनले नेपालले जलविद्युतको सीमापार व्यापारलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै त्यसको सहजीकरणका लागि भारतीय पक्षबाट गरिएका प्रतिबद्धताको प्रशंसा गरे ।
मन्त्री पुनले भारतीय लगानीमा निर्माण भइरहेका अरुण तेश्रो जलविद्युत आयोजना र बुटवल-गोरखपुर ४ सय केभी प्रसारण लाइन नेपालको प्राथमिकतामा रहेको उल्लेख गरे । १९८८ मा सेवा प्रवेश गरेका क्वात्राले सन् २००६ देखि २०१० सम्म काठमाडौंस्थित दक्षिण एसियाली सहयोग संगठन (सार्क) सचिवालयको व्यापार, अर्थ तथा वित्त व्युरो प्रमुखका रुपमा काम गरेका थिए । क्वात्राले विजनेस एडमिनिस्ट्रेनसमा स्नातकोत्तर र अर्थशास्त्रमा एम फिल गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्