काठमाडौँ, २५ फागुन । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ ।
काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ ।
नगर प्रमुख घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवालाई बाटो काट्न सहजताका लागि आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिए ।
यसैगरी नगरपालिकाले काठमाडौँ भित्रिने प्रमुख स्थान नागढुङ्गामा प्रवेशद्वारसमेत निर्माण गर्ने भएको छ । उक्त प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको नगरप्रमुख गिरीले बताए । नगरपालिकाले चन्द्रागिरीका जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुङ्गा–कलङ्की सडकखण्डमा सिसीटिभीसमेत जडान गर्न लागेको छ
नगरपालिकाले सिसीटिभी जडानका लागि चालू आर्थिक वर्षमा रु एक करोड विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्