समाचार

आज उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट



काठमाडौँ, २६ फागुन । उपत्यका ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित र सुरक्षित बनाउन काठमाडौं उपत्यकामा ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोाबाइल चेकिङ गरिने भएको छ ।

राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ नियमित बाहेक थप ट्राफिक प्रहरी तथा मोटरसाइकलमा समेत ट्राफिक प्रहरी गरी जम्मा ५६६ जना ट्राफिक प्रहरी परिचालन गरेको छ ।

मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, हेलमेट नलगाई दुईपांग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाइ गरेर चलाउनेलाई कारबाही गर्न विशेष जाँचको व्यवस्था मिलाइएको छ ।

त्यस्तै, सडक र सवारी प्रयोगकर्ताहरूलाई उपत्यकामा कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न अनुरोध गरेको छ ।