काठमाडौँ, २७ फागुन । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले नेपालमा मात्र नभई विश्वमा नै सङ्कटको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा कमाउने मौका यही हो भनेर कुनै पनि व्यवसायी अत्यावश्यक कुराहरुमा कालोबजारी गर्नेलाई जरिवाना तिराउने मात्रै नभई जेलसम्म हाल्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिनुभएको छ ।
पत्रकारसँगको भेटमा मन्त्री भट्टले सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिँदै आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको जानकारी गारउदै सरकारले बढी मुल्य नतिर्न उपभोक्तालाई सुझावसमेत दिनुभयो ।
‘त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी कानून तथा अत्यावश्यक ऐनले गरेको व्यवस्थाअनुसार हदैसम्मको कारवाही हुनेछ,’ मन्त्री भट्टले भन्नुभयो, ‘खाद्य पदार्थ, खाना पकाउने ग्यास, नुन, दलहन, खाने तेल आपूर्तिमा कुनै समस्या छैन । कहीँ कतै पनि आत्तिईं हाल्नुपर्ने अवस्था छैन ।’
मास्क, स्यानेटाइजरजस्ता सामग्रीमा मात्रै दबाब परेको उहाँको भनाई छ । व्यापारीले २० रुपैयाँमा पाइने आयोडिनयुक्त नुनको ४० रुपैयाँसम्म असुली गरेको, खाना पकाउने एलपी ग्यास लिन लामो लाइन लागेको, मास्क तथा अन्य खाद्यउपजमा समेत कालोबजारी भएको चर्को गुनासो आएपछि मन्त्री भट्टले यस्तो जानकारी दिनुभएको हो । पत्रकारसँगको भेटमा मन्त्री भट्टले केही सामानमा दबाब परे पनि सङ्कटको अवस्था नभएको प्रष्ट पार्नुभयो ।
मन्त्री भट्टले आपूर्ति तथा अन्य कुनै समस्या आए ११३७ नम्बरमा फोन गर्न आग्रह गर्नुभयो । पैसा नलाग्ने सो नम्बरमा फोन गरेर आफ्ना समस्या तथा गुनासो राख्न सकिनेछ । कालोबजारी भए, परल मूल्यभन्दा बढी मूल्यमा कुनै सामान बिक्री वितरण गरेको पाइए सो नम्बरमा गुनासो गर्न सकिने मन्त्री भट्टको भनाइ छ । उहाँले केही दिनभित्रैमा साल्ट ट्रेडिङलगायतका स्थानमा पनि हटलाइन सेवाको शुरुआत गरिने जानकारी दिनुभयो । सबै प्रकारका उपभोग्य सामग्रीको अभाव नभएको तर बजारमा केही व्यापारीले अनावश्यकरूपमा नकारात्मक हौवा फैलाएको बताउनुभयो ।
काठमाडौँ उपत्यकामा विशेषगरी गुणस्तरीय मानिएको नेपाल ग्यासमा ठूलो दबाब परेको छ । त्यसलाई हटाउने लक्ष्यका साथ नेपाल आयल निगमले मागभन्दा झण्डै दोब्बर ग्यासको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ तर उपभोक्ताले पनि सङ्कटको बेलामा के हो के भने जसरी आवश्यकभन्दा बढी ग्यासका सिलिण्डर भण्डारण गरेका कारण नयाँ सिलिण्डर नै पाउन मुस्किल परेको छ । नयाँ सिलिण्डर नभएका कारण रिफिलिङ गर्न समस्या देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्