समाचार

चप्पल कारखानामा आगलागी : एक जना घाइते, लाखौं क्षति



बाँके, २८ फागुन । बुधबार बिहानबाट अमरजित सिंहले जानकी गाउँपालिका–३ मा सञ्चालन गरेको जयश्री सियाराम चप्पल कारखानामा बुधबार बिहान १ः१५ बजे आगलागी भएको हो । आगो लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीमा सुरक्षा गार्ड दीपककुमार चौहान गम्भीर घाइते भएका छन् । शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आगोले कारखानामा रहेका चप्पल, कच्चापदार्थलगायत जलेर नष्ट भएका छन् । यद्यपि, मेसिनलगायतका महँगा उपकरण भने जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

गुलरिया, कोहलपुर, नेपालगञ्जलगायत स्थानबाट ६ दमकल मगाएर नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

कारखाना सञ्चालक सिंहले आगलागीबाट आफ्नो कारखानामा रहेका ८–१० करोड रुपैयाँबराबरका मालसामान जलेर नष्ट भएको दाबी गरेका छन् । तर, प्रहरीले भने क्षतिको यकिन विवरण संकलनको काम भइरहेको जनाएको छ । विद्युत्त लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरे पनि खुलेको छैन ।