काठमाडौँ, २९ फागुन । नबिल बैंकले ऋणीबाट रकम असुली गर्दा ‘गैरकानुनी अभ्यास’ गर्दै आएको तथ्य फेला परेको छ ।
वाणिज्य बैंकका रुपमा रहेको नबिलले ऋणीबाट ऋण असुल गर्दा अपनाउनुपर्ने नेपाल राष्ट्र बैंकका नियम र मापदण्डसमेत उल्लंघन गर्दै आएको छ । नागरिकसँगको सम्पर्कमा आएका ऋणीका अनुसार राष्ट्रबैंकको निर्देशिकाविपरीत नबिल बैंकले सम्बन्धित ऋणीको खाताबाट रकम काट्ने गरेको छ ।
बैंकले आफूले लिएको ऋण विभिन्न कारणले भाकामा तिर्न नसक्ने ऋणीको कोर बैंकिङ सफ्टवेयर (सिबिएस) बाट बैंक खाता विवरण अफलाइन हासिल गरी रकम घटाउने गरेको हो । अफलाइन खाता विवरण हासिल गरेपछि ऋण असुली गर्ने विद्यमान मापदण्डविपरीत बैंक कर्मचारीहरूले सम्बन्धित व्यक्तिको रकम उसको खाताबाट काट्ने गरेका छन् ।
राष्ट्रबैंक नियमावलीले बैंकलाई पहिले ब्याजमा लागेको जरिवाना, ब्याज र त्यसपछि मात्र साँवा घटाउन दिन्छ । तर नबिलले यसविपरीत काम गरिरहेको छ । ऋणीहरूले दाबी गरेअनुसार बैंकले सबैभन्दा पहिले साँवा, त्यसपछि ब्याज र अनि मात्र ब्याजमा लागेको जरिवाना काट्ने गरेको छ ।
नबिल बैंकले राष्ट्रबैंकको मापदण्डविपरीत आफ्ना कर्मचारी परिचालन गरी लक्षित ऋणीको बैंक खाता विवरण अफलाइनमा लैजाने र त्यसैका आधारमा घटाउने गरेको देखिएको छ । यो अभ्यासको उद्देश्य ऋण जोखिम घटाउने हो। यसले गर्दा सम्भावित क्षति र ननपर्फर्मिङ लोन (एनपिएल) को व्यवस्था गर्नु आवश्यक हुँदैन । यसले बैंकलाई आफ्नो नाफा कायम राख्न र सेयरधनीलाई लाभांश नघटोस् भन्ने सुनिश्चित गर्छ । यो खबर आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्