राजनीति

‘स्टीङ अपरेशन’ तिब्र पार्दै अख्तियार



काठमाडौँ, १ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला दिनमा स्टीङ अपरेशन तिब्र पारेको छ । दिनहुँजसो कर्मचारी र सार्वजनिक पदाधिकारी स्टिङ अपरेशनको फन्दामा पर्न थालेका छन् ।

अख्तियार टोलीले शुक्रबार मात्रै रुपन्देहीस्थीत नापी कार्यालयका नापी अधिकृत सरोज श्रेष्ठसहित पाँच कर्मचारीलाई १७ लाख घुससहित नियन्त्रण लिएको छ । अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार जग्गा कित्ताकाटमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिदै गर्दा नापी अधिकृत श्रेष्ठ, सर्भेक्षकद्वय तिर्थराम भण्डारी, थानेश्वर चौधरी, नायब सुब्बा धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार अर्याललाई बुटवल सिद्धार्थ नगरपालिका वडा, १३ को अशोका होटल छेउबाट पक्राउ गरेको हो ।

शुक्रबार नै अख्तियारले धादिङ मालपोत कार्यालयमा गरेको स्टिंग अप्रेसनमा २ जना व्यक्ति घूससहित पक्राउ गरेको छ । जग्गा रजिस्ट्रेसन फाँटमा करार सेवा कार्यरत सूर्य अधिकारीलाई नगद रकम दिँदै गरेको अवस्थामा भू–सेवा केन्द्रका लेखापढी व्यवसायी कान्छो नारायण श्रेष्ठलाई अख्तियारले पक्राउ गरेको हो ।

स्थानीय सहकारी संस्था लिमिटेडको जग्गा फकुवा सम्बन्धी फाइलमा घूस मागेपछि लेखापढी व्यवसायी श्रेष्ठ मार्फत अधिकारीले १७ हजार ५ सय नगद बुझे लगत्तै अख्तियार टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

यता बिहीबार साँझ डिभिजन वन कार्यालय दोलखामा डिभिजन वन अधिकृत ९दशौं तह० सन्तमाया श्रेष्ठलाई २ लाख ३ हजार ५ सय रुपैयासहित भक्तपुरको गठ्ठाघर चोकबाट नियन्त्रण लिएको छ । अख्तियारको टोलीले काठ व्यापार गर्ने व्यापारीसँग घुस रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) ले २ लाखसहित अख्तियारको फन्दामा परेका छन् । ठगी मुद्दामा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग कपिलबस्तु नगरपालिका वडा नं। १ स्थित महामाया प्रेस गौढीचोकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता कोइरालाले जानकारी दिए । यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।