समाचार

टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु : प्रहरी बीटमा ढुंगामुढा



काभ्रेपलान्चोक, ४ चैत । जिल्लाको पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खानीखोला गाउँपालिका वडा नं १ की जुनी माया गोले र उनकी छोरी स्मारीका गोले रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा छोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि शीर मेमोरियल बनेपामा लगिएको भए पनि उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपरले मारेको भन्दै पनौतिबस पार्कमा मृतकका आफन्तले सडक अवरोध गरेका छन् । अवरोधलाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि आफन्त तथा स्थानीय थप आक्रोसित बनेका छन् । भिड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरी बीटमा समेत स्थानीयले ढुंगामुढा गरेपछि पनौती तनावग्रस्त बनेको छ ।

टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।