काठमाडौँ, ५ चैत । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाउनुभएको हो ।
घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरी लगेको थियो । छोरीलाई चितुवाले तानेर लगेसँगै होहल्ला गर्दै आमाले चितुवासँग लडेर छोरी बचाउनुभएको हो । चितुवाको आक्रमणमा परी घाइते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
चितुवाले बालिकाको पेटमा चारवटा, दुई खुट्टामा एक÷एकवटा नङ्ग्रा गाडेर घाइते बनाएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य खतरामुक्त रहेको बालिकाका बाबु नारायण न्यौपानेले जानकारी दिनुभयो । “गाउँमा चितुवाको आतङ्क सुरु भएको धेरै भयो । हामी सबै परिवार घरमै थियौँ । आमासँगै हात समातेर गएकी छोरीलाई चितुवाले ताने पनि श्रीमतीले साहसका साथ चितुवासँग भिडेर छोरी बचाउन सफल भइन्”, न्यौपानेले भन्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्