काठमाडौँ, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशमा कोरोना भाइरसको उपचारका लागि आवश्यक उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
खुमलटारस्थित निवासबाट शनिबार भिडियो अपिलमार्फत प्रचण्डले दैनिक ज्यालादारी मजदुरका लागि विशेष आर्थिक राहत प्याकेज घोषणा गर्न पनि माग गरेका छन् । ‘कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रमोर्चामा रहेर जोखिम उठाउने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च राख्न आवश्यक उत्प्रेरणा, सुरक्षा र सातै प्रदेशमा उपकरणको व्यवस्थामा राज्यका तर्फबाट थप जोड दिन आवश्यक छ,’ प्रचण्डको अपिलमा भनिएको छ, ‘साथै, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने निम्नवर्गीय श्रमजीवी जनताको खाद्यान्नलगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माणमा सरकारको ध्यान जाने नै छ ।’
प्रचण्डले संकटका वेला गरिब र असहायको सहयोगमा मुठी फुकाउन निजी क्षेत्रका व्यवसायीलाई पनि अपिल गरेका छन् । उनले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा संघ, प्रदेश र स्थानीय सरकार तथा नेकपाका सबै तहका नेता–कार्यकर्ता र सदस्यलाई स्वयंसेवीका रूपमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गरेका छन् । साथै, सचेत नागरिक र आमसञ्चारमाध्यमको जिम्मेवारपूर्ण आधिकारिक सूचना र शिक्षाले मात्र जोखिममा पर्नबाट जोगिन सकिन्छ भन्ने तथ्यलाई गहिरो गरी आत्मसात् गर्नसमेत उनको विशेष आग्रह छ । संक्रमणविरुद्ध विजय प्राप्त गर्न सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको आधिकारिक निर्देशन र आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न र त्यसमार्फत देश र दुनियाँको रक्षा गर्न पनि प्रचण्डले सबैसँग अपिल गरेका छन् ।
अहिलेसम्म सरकार र नागरिकले आवश्यक सजगता र सावधानी अपनाएकोमा धन्यवाद दिँदै उनले थप संक्रमण फैलन नदिन हार्दिक अपिल गरेका छन् । लकडाउनलाई पालना गरी घरबाट ननिस्कन र अनुशासनको पालना गर्न सबैसँग अनुरोध गर्दै उनले कोरोना भाइरसविरुद्धको लडाइँमा सबैभन्दा अग्रमोर्चामा रहेर क्रियाशील रहने स्वास्थ्यकर्मी, राष्ट्रसेवक सुरक्षाकर्मी, कर्मचारी र आमसञ्चारमाध्यमको क्रियाशीलताको उच्च प्रशंसा पनि गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्