राजनीति

साझा अभियानमा लाग्न मुख्यमन्त्री शाहीको अपिल



काठमाडौँ, १६ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसविरुद्धको अभियानमा एक भएर लाग्न कर्णालीवासीलाई अपिल गरेका छन् ।

मुख्यमन्त्री शाहीले महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले ५० करोडको विपद् व्यवस्थापन कोष खडा गरेको जानकारी दिए । ‘कोरोना भाइरसको प्रतिकार्यका लागि कोषमा मलगायत मेरो मन्त्रिपरिषद्का सदस्यले एक महिनाको पारिश्रमिक जम्मा गरेका छौँ । जनप्रतिनिधि, राष्ट्रसेवक, उद्योगी÷व्यवसायी एवं अन्य इच्छुक व्यक्ति तथा संघसंस्थालाई उक्त कोष वृद्धिका लागि सहयोग गर्न आह्वान गर्छु,’ उनले भने ।

सम्भावित जोखिमलाई रोकथाम गर्न थालेको प्रयासमा सहयोगका लागि सम्पूर्ण नागरिकमा अपिल गर्दै उनले छिमेकी मुलुक भारत र अन्य देशबाट आएकालाई १४ दिन अन्य मानिसको सम्पर्कबाट टाढा रही आफू र आफ्नो परिवार तथा समाज संक्रमणबाट बचाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले यस्तो परिस्थितिमा कोही कसैलाई नडराउन, तर सचेतना अपनाउन सुझाउँदै आत्तिएर नभई धैर्यका साथ आ–आफ्नो ठाउँबाट साथ दिन अनुरोध गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।