काठमाडौँ, १७ चैत । कोरोना भाइरसको संक्रमण रोक्न गत मंगलबारदेखि देश लकडाउनमा छ। यसले घरभित्रै बस्नुपर्दा जनजीवन कष्टकर र चुनौतीपूर्ण बन्दै गएको छ । तर यो असहज परिस्थितिले राजधानी काठमाडौँको वायुको गुणस्तरमा भने ऐतिहासिक सुधारको मौका दिएको छ ।
सधैंजसो प्रदूषणको सरदर स्तर जनस्वास्थका लागि हानिकारक भइरहने राजधानी हिजोआज ऐतिहासिक रुपमा स्वच्छ भएको छ, वायु प्रदूषण ह्वात्तै घटेको छ ।
यसको प्रमुख कारण लकडाउनका बेला गाडी नचल्नु, राजधानीमा रहेका कलकारखाना बन्द हुनु र गत शुक्रबारसम्म सक्रिय रहेको पश्चिमी वायुले काठमाडौँ खाल्डोको प्रदूषण बढारेर उपत्यकाबाहिर लग्नु भएको विज्ञ बताउँछन् । आइतबार २ बजे रत्नपार्कको पिएम २.५ को स्तर ४ दशमलव १४ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको थियो भने शनिबार दिउँसो ३ बजे काठमाडौँको फोहोरा दरबारमा पिएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटर थियो ।
यो स्तर काठमाडौँको वर्षभरिको औसत वायु प्रदूषणभन्दा करिब १० गुणाले कम हो र विश्व स्वास्थ संगठनको तोकेको मापदण्डभन्दा आधा कम हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्