राजनीति

आरोप प्रत्यारोपबाट महामारी विरुद्धको संघर्षमा कदापी विजय हासिल गर्न सकिदैन : मुख्यमन्त्री पोखरेल



काठमाडौँ, २० चैत । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उपेक्षा, अलमल वा आरोप प्रत्यारोपवाट महामारी विरुद्धको संघर्षमा कदापी विजय हासिल गर्न नसकिने उल्लेख गर्दै समयमै गंभीर भएर सोच्न आग्रह गर्नुभएको छ ।

उहाँले आज फेसबुकमा स्ट्याटस गर्दै उहाँले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोक्न विकसित मुलुकहरुले समेत नियन्त्रण गर्न धेरै कठिन भइरहेको सन्दर्भमा नेपालमा महामारिको रुप लिए त्यो विकराल परिस्थिती उत्पन्न हुने भएकाले वेलैमा सवैले सोच्न जरुरी रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘कोरोना विरुद्धको पूर्व तयारी र नियमित स्वास्थ उपचारका लागि तत्काल स्वास्थ सुरक्षा सामाग्री र उपकरणको आवश्यकता छ । बजारमा ती सामाग्रीको चरम अभाव छ । पाइने सामाग्री पनि गुणस्तरका छैनन् । स्थानिय तह र प्रदेशका स्वास्थ निकायलाई बजेट दिएर पनि सामान पाउने अवस्था छैन । चिन र भारत सरकारसंग राज्यले आग्रह पनि सामानकै अभावका कारणले होला सुनावाई हुन सकेको छैन । नीजि क्षेत्रसंग राज्यको सहकार्य सफल देखिदैन । यस्तो अवस्थामा वाहिरवाट सामान ल्याउन सक्ने सबै मिलेर राज्यलाई सहयोग गर्नु पर्यो । संक्रमण नफैलदै त सामान्य उपचार समेत हुन नसकेको अवस्था छ । फैलिएमा कस्तो भयावह अवस्था होला ? कल्पना समेत गर्न कठिन छ । तर पनि इटली र अमेरिकाका जस्ता विकसित देशले बेहोर्नु परेको अहिले अभाव र पीडावाट पाठ सिक्न त सकिन्छ नै । मेरो जिम्मेवार सबैलाई विनम्र अनुरोध छ उपेक्षा, अलमल वा आरोप प्रत्यारोपवाट महामारी विरुद्धको संघर्षमा कदापी विजय हासिल गर्न सकिदैन । समयमै गंभीर भएर सोचौ ।’