समाचार

बिरामीको उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्न नागरिक समाजको माग



वीरगञ्ज, २२ चैत । कोरोना भाइरस महामारीका बेला शंकास्पद बिरामीको उपचार गर्न नमान्ने निजी अस्पतालहरूलाई कारबाही गर्न प्रदेश २ का नागरिक अगुवाहरूले माग गरेका छन् ।

बिरामी भर्ना गर्न नमानेर निजी अस्पतालहरुले आम नागरिकको स्वास्थ्य उपचारको हक र बाँच्न पाउनुपर्ने अधिकारको हक उल्लंघन गरेको उनीहरूको आरोप छ ।

सामुदायीक रेडियो प्रसारक संघ (अकोराव), उपभोक्ता हित संरक्षण मञ्च, प्रदेश नं. २ आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. २ लगायत संघ, प्रदेश र स्थानीय तहमा क्रियाशिल संघ संस्थाहरुले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै नागरिकको अधिकार प्रत्याभूति हुनुपर्ने र त्यसो नगर्ने अस्पतालाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

विज्ञप्तीमा लेखिएको छ, ‘कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि राज्यले लकडाउन गरेको भए पनि त्यसबाट उत्पन्न परिस्थितिको संवेदनशीलताको पनि ख्याल नगरी अस्पतालहरुले सामान्य किसिमका बिरामीदेखि जटिल प्रकारका बिरामीहरुको उपचार नगरिदिँदा आम नागरिकको जनजीवन थप भयभित भएको अवस्था छ ।’

विज्ञप्तीमा राहत वितरणमा भेदभाव, अनियमितताको गुनासो आइरहेकोप्रति पनि गम्भीर ध्यानाकर्षण भएको नागरिक समाजले उल्लेख गरेको छ । आम नागरिकको जीवनयापन सहज बनाउन नागरिक समाजले तीन तहको सरकारसँग सातबुँदे मागसमेत राखेको छ ।