काठमाडौँ, ३ वैशाख । सुदूरपश्चिमका विभिन्न जिल्लामा घर भएका ३१ जना सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मानखोला नाका हुँदै बर्दिया प्रवेश गरे । नाकामा बाँसगढी नगरपालिकाले राखेको हेल्थ डेस्कमा तिनको ज्वरो नापियो । तापक्रम सामान्य देखिएपछि नगरपालिकाले टिपरबाट कर्णाली चिसापानीसम्म पुर्यायो तर चिसापानी पुल तरेपछि उनीहरूलाई कैलालीमा टेक्नै दिइएन । रातभरि चिसापानीमै अलपत्र परे ।
मंगलबार बिहानै उनीहरूलाई बाँसगढी फिर्ता पठाइयो । बाँसगढीले फरक जिल्लाका व्यक्तिलाई राख्न नसक्ने भन्दै बाँकेको कोहलपुर पठायो । कोहलपुर नगरपालिकाले फेरि बाँसगढीको मानखोलामै फिर्ता पठायो । त्यसपछि पैदल घर जान लागेका उनीहरूलाई टिपरबाट दिउँसो चिसापानी लगियो ।
यसरी स्थानीय सरकारहरूले फुटबलझैं घरी यता र घरी उता हुर्याउने त्यस समूहमा कैलालीका २६, कञ्चनपुरका ३ र बझाङका २ जना छन् । उनीहरू काठमाडौं, बुटवल, पोखराबाट पैदलै बाँकेसम्म आएका हुन् । क्वारेन्टाइनमा बस्ने सर्तमा प्रवेश दिने प्रयास भइरहेको इलाका प्रहरी चिसापानीले जनाएको छ । ‘दुई दिनदेखि यताउता पठाएर हैरान बनायो,’ कैलालीका प्रेम चौधरीले टेलिफोनमा भने, ‘गरिबको कोही नहुँदो रहेछ। अपराधीजस्तो बनाए ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्