काठमाडौँ, ५ वैशाख । खाडी राष्ट्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन् ।
करिब ३ लाख नेपाली रहेका युनाइटेड अरब इमिरेट्स (यूएई) र ६० हजारभन्दा बढी नेपाली कामदार रहेको कुवेतको घोषणाले नेपाल मात्र होइन, अन्य मुलुक पनि समस्यामा परेका हुन् ।
साउदी अरेबिया, कतार, यूएई, बहराइन, ओमान र कुवेतमा यतिबेला करिब २० हजार संक्रमित रहेको तथ्यांक आइरहँदा उनीहरू आफ्ना नागरिकको सुरक्षाका लागि अनेक निर्णय लिन थालेका छन् । यस्तो निर्णयले कैयन् नेपालीले रोजगारी गुगाएका छन् । बिदामा रहेकाहरू घर फर्कन पाएका छैनन्। घुम्न पुगेकाहरू त्यहीँ अड्किएका छन् ।
अधिकांश कम्पनी बन्द भएकाले नेपालीहरू कोठामै बसिरहेको र कतिपयको त जागिरसमेत गुमेकाले हातमुख जोर्नै गाह्रो भएको छ । रोजगारी गुमाएका विदेशी नागरिक छिट्टै आफ्नो मुलुक फर्किऊन् भन्ने खुला धारणा यूएईले बाहिर ल्याए पनि अन्य मुलुकले त्यसलाई पछ्याउने भएकाले यसमा सरकारले व्यवस्थापनको बाटो तय गर्न आवश्यक देखिन्छ । यूएईले बेरोजगार भएका र घर फर्कन चाहने आफ्ना नागरिकलाई फिर्ता लैजान कामदार पठाउने मुलुकलाई आग्रह गरेको छ ।
त्यहाँ रहेका नेपाली पनि स्वदेश फर्कन पाऊँ भनिरहेका छन् । यूएई सरकारको निर्णय सञ्चार माध्यममा आएपछि सरकार अन्योलमा परेको हो । यद्यपि, सरकारलाई भने कूटनीतिक च्यानलमार्फत त्यो प्रकारको कुनै जानकारी नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्