काठमाडौँ, ८ वैशाख । पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६८ जनाको कोरोना भाइरस ९कोभिड–१९० परीक्षण भएको र तीमध्ये कसैलाई पनि कोरोना सङ्क्रमण देखिएको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म विस्तृत परीक्षण अर्थात् पीसीआरमार्फत आठ हजार ८१ र द्रुत गतीमा आरडीटीबाट २१ हजार ४८६ जनाको परीक्षण भएको जानकारी दिएको छ ।
नियमित पत्रकार सम्मेलनमा आइतबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ७७ वटै जिल्लामा आरडीटी परीक्षण सुरु भइसकेको जानकारी दिए । उनले हाल देशभर १०३ जना कोरोना सङ्क्रमणको आशङ्कामा आइसोलेसनमा रहेको स्पष्ट पार्नुभयो । तीमध्ये काठमाडौंँमा पाँच र काठमाडौँ बाहिर ९८ जना रहेका छन् ।
प्रवक्ता देवकोटाले दिनहुँ परीक्षणको दायरा बढिरहेको स्पष्ट गर्दै परीक्षणमा सङ्क्रमण नदेखिएकाहरूलाई क्वारेन्टाइनबाट घर पठाइएको जानकारी दिए । देशभर पाँच हजार १८० जना क्वारेन्टाइनमा बसिरहेको जानकारी उनले दिए ।
कोरोनाबाट नआत्तिन आग्रह गर्दै उनले आत्मबलले कोरोनालाई जित्ने प्रमाणित भइसकेको बताए । हाल नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ रहेकोमा २८ जना उपचाररत छन् ।
कोरोना भाइरस रोगको सङ्क्रमण भएपछि सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ वर्षीय युवक पनि निको भएर आइतबारै घर फर्किएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्