हामी कांठका मान्छे, राजनीतिमा खास चाख हुने थिएन स्कुल जीवनमा । जब सानोठिमी कलेज पढ्न लागियो त्यहाको माहोलले हामीलाई राजनितीमा आकर्षित गर्यो । स्वभाविक रुपमै सानोठिमीको विद्यार्थी भएको कारण अनेरास्ववियुकै राजनीतितिर लागियो । त्यो दौरानमा एकजना पात्र पुर्बी पहाडबाट आएका दुब्ला मायालाग्दा साथीसंग भेट भयो । उनी बहुत रमाइला थिए, सधैं ब्यस्त हुन्थे, सबैलाई मागे नमागे अनेक सल्लाह दिदै हिडथे । उनको नाम हामीले सुझाव माष्टर राखेका थियौ । उनी क्रान्तिका अनेक कुरा गर्थे । कहिले काहीँ सुख दु:खको कुरा गर्दा भन्ने गर्थे, “तपाईंहरु जस्तो भाग्यमानी हामी भएनौ । हामी पहाडबाट झरेका मान्छेलाई खानाको र कोठा भाडाको मात्र ब्यबस्था भए पनि कती राहत हुन्थ्यो । न चिसो ठण्डीमा बिहानै उठेर ट्युसन पढाउनु पर्थ्यो न अनेक राजनैतिक र संस्कृतिक कार्यक्रम गर्दै अपमान सहेर चन्दा उठाउनु पर्थ्यो । खै जे भए पनि बाच्ने उपाय त गर्नै पर्यो ।”
जब आइएड सकेर बिएड ज्वाइन गरियो । सुझाब मास्टरको शैली फेरिन थाल्यो नेतामा हुने सबै गुण क्रमश: सिक्दै गएको देखियो । उनले भने अब ट्युसन र कार्यक्रमहरुको सुत्र अलि राजनैतिक हैसियतले नदिने भयो अब अर्को आइडिया लगाउनु पर्यो । के आइडिया मित्र ? हामीले सोध्यौ, उनले भने तपाईंहरुको तिर दाजुभाइ नभएका चेली छैनन ? अर्को साथिले सोध्यो किन मित्र ? उनले भने बाँच्ने उपाय नि, राजनीति गर्ने मान्छे कि ब्यबसाय गर्नु पर्यो कि दिमाग लगाउनु पर्यो । अब त घर र घडेरीको ब्यबस्थापन गर्नु पर्यो नि । लौ मित्र हिजो त पढाई गरुन्जेल दुईचार बर्ष कोठा भाडा र खाने बन्दोबस्त मात्र मेरो उदेश्य हो त्यसपछि त गाउँमा गएर नेता भएर गाउँको मुहार फेर्ने हो भन्नू हुन्थ्यो त ? उनले भने “अब त्यो मन्यता फेरियो मित्र हामी क्रान्तिकारीहरु समय अनुसार रुपान्तर हुनुपर्छ । मार्क्सवादको ठोस परिस्थितिको ठोस बिस्लेषण तपाईंहरुलाई थाहै रहेनछ । हेर्नुन उता गाउँमा त्यो हामीसंगै हाई स्कुलमा राजनीति गरेको लिम्बुले पुरै भ्याइसकेछ जस्को पनि मुख मुखमा उसैको नाम सुनिन्छ । हाम्रो पेटमा बोसो लागिसक्यो । दुईबर्षमा १० किलो वजन बढेर त्यो पहाड अब कहाँ उक्लनु ? त्यो लिम्बू कमरेडसंग कहाँ पौठे जोरी खेल्नु ।
अब यहीँबाट राजनीति गर्ने विचार आयो । यहाँ भए कोही स्थापित नेता पनि देखिन्न तपाईंहरुनी खाली समर्थकमात्र बन्न चाहनुहुन्छ । मेरो असल शुभचिन्तक हुनुहुन्छ । तसर्थ यहाँको घर र घडेरी मेरो अन्तिम लक्ष्य हो । “त्यो त कत्रो कुरा भो र पहाडमा जग्गा बेचेर किने भो नि, हामी त चार पाँच आना जग्गा बेचेर नयाँघर बनाउने विचारमा छौ” मैले थपें । तपाईंको पो मुल्यवान जग्गा छ । हाम्रो त पहाडै बेचे पनि यता अढाई आना जग्गा आउदैन । फेरि धेरै दाजुभाइ अंशमा कतिनै पर्दछ । त्यसैले घर ज्वाँई हुँदा दुई फाईदा हुन्छ मित्र, एउटा घर घडेरीको समस्या हल हुने अर्को ज्वाँई भएपछि बाहिरको आयातित भन्ने सन्देश पनि समाप्त हुने, आधा हक लाग्ने भो हा हा हा ।
गज्जबले हांस्नुभयो कमरेड । एकपल्ट कमरेड एक महिना हराउनु भयो । चम्किलो मुहार लगाएका कमरेड कोट लगाउन थाल्नु भएछ । हसिलो र चम्किलो मुहारले खिसिक्क हास्दै भने “सरी है”। किन मित्र किन सरी ? हामीले सोध्यौ । उनले भने मैले एउटा सोझो र राम्रो परिवारको केटी बिबाह गरें अकस्मात । अब घर ज्वाँई भैयो त ? हामीले सोध्यौ, उनले भने ‘आधा घर ज्वाँई पूरा सन्तुष्ट’। नयाँ शब्द आयो त कम्रेड हाम्रो प्रश्न झर्न नपाई जवाफ फर्कियो । उताको समर्थन नि पाइने घरघडेरीको लागि अनि श्रीमतीको सपोर्ट नि हुने जीवन निर्बाहको लागि, उनी जागीर खाने म राजनीति हा हा हा ।
पढाई सकिएको धेरैपछि उनले सम्झेर कल गरे, धेरै पछि फेरि भेटभयो । हालखबर सोधियो । गजब कमरेड राजनीतिक प्रगति जिल्लाको जान पहिचान नेता भएको छु । पुरानो आइडियाले घडेरी किनेर घर बनाए अब अर्को नयाँ आइडिया लगाएको छु । मैले बिचमै कुरा काटें, कुन पुरानो आइडिया अनि कुन नयाँ आइडिया मित्र ?
उनले भने लौ बिर्सेको मित्र तेहि के ट्युसन, कार्यक्रम गर्दाको चन्दा, राम्रो परिवारमा बिबाह, चुनाब परिचालन कमिटीको सहसंयोजक । बीचमै मैले सोधे किन सांच्ची तपाईं जुन कमिटीमा पनि सह संयोजक मात्र ? अपजस र अप्ठेरो परे संयोजकको टाउकोमा जस र लाभ आए आफ्नो भागमा आफु त लो प्रोफईलमा बस्ने मान्छे । उनको तरिका गजब गजबको हुन्छ । मैले फेरि सोधे अनि नयाँ आइडिया चाहिँ के हो नि मित्र ।
अब राजनीति र पेशा जोडनु पर्दछ । पार्टीको यो कार्यदिशा आयो कमरेड अब तेतै लागियो । एउटा स्कुल खोल्ने र एउटा फर्म खोल्ने प्लान गरियो । अब सबै साथीहरूले शेयर हालौं । नाफा कसरी कमाउने नी भन्ने मेरो जिज्ञासामा उनले भने हे कमरेड म ठूलो नेताको मान्छे, उनको निजी सचिब सरकारको तर्फबाट आउने राहत सहुलियत हाहाहा बुझ्नुन…। कलेज लाइफ पछी लामो समय साथीसंग भेट भएन । तेसपछी ७० सालको चुनाबमा एकाएक भेट भयो, घरदैलो कार्यक्रममा पुरानो पार्टी छाडेर नयाँ पार्टीको भोट माग्दै हिडेको अबस्थामा । मैले अच्चमित हुँदै भने के हो यो कमरेड ? उन्ले ङीच्च हास्दै भने समय अनुसारको परिबर्तन हामी मार्क्सबादीहरु, अब पुरानो पार्टी क्रान्तिकारी रहेन । दलाल, नोकरशाह र पुजीवादीहरुको दलदलमा जाकियो । त्यो पार्टीमा न्याय पनि मर्यो । भावना पनि मर्यो, हो र ? हामीलाई त त्यस्तो लाग्दैन कसरी मित्र, मैले बीचमै सोधे ? उनले जबाफ दिए । मलाई टिकट नदिएर षड्यन्त्र गरे । राज्यको तेत्रो ठाउमा बसेको मान्छे अनुदान मागेको जति पनि दिएनन ।
अनि के फरक पर्यो त तपाईं त क्रान्ति र ब्यबसाय संगै चलाको मान्छे मैले फेरि जिज्ञासा राखें उनी अध्याँरो मुख लगाउदै भन्न थाले मित्र, स्कुल चलेन सबै साथीहरुको शेयर पनि डुब्यो, गाई पनि सबै मरे खोट त के के लाग्यो लाग्यो, घर बनाएको रिन, बच्चाको पढाई म त हार खाएर ठूलो तनाब, दुखको बेला न पार्टी न साथी ।
न पार्टीले टिकट दियो न साथीले छुट दिए, त्यै भएर म त क्रान्तिकारी पार्टी प्रबेश गरे । उनले भोटमाग्ने हिम्मत गरेनन स्कुलमा मैले हालेको दस हजारको शेयर नमागिदिए हुन्थ्यो भन्ने उनको मनोबिज्ञान बुझेर मनमनै त्यो पैसा माया मारेर उनलाई गजबको माया गरेर चिया खुवाई बिदाइ गरे । त्यस्को छ महिना पछि एउटा साथीको संगतमा एउटा गजबको बैचारिक बहस छ भनेर राष्ट्रीय शभागृहको कार्यक्रममा सहभागी हुन गएका थियौ । मेच मिलाउने, ब्यानर टाँग्ने मान्छे देखेर अच्चम्म पर्यौ, ती त उनै पुराना क्रान्तिकारी साथी पो रैछन । हल्लो कमरेड लालसलाम भनेर मैले बोलाए । ऊनी केही नबोली म भएतिर आएर भने अब कहाँ लालसलाम अबत नयाँ अभियान, यी कम्युनिष्ट भनेका कलाकार हुन, क्रान्तिका कुरा गर्ने, जनता झुक्काउने कस्तो सल्लाह मिलेको हेर्नुत पुराना साथी तपाईंहरु संगसंगै नयाँ अभियानमा ।
उहाँ यो देशको ठूलो व्यापारी हो यो अभियानमा त संगै बसेको साथीलाई चिनाउदै उहाँ ठूलो व्यापारी, उध्योगपती, ब्यबसायी कत्रो जमात छ हेर्नु त । अभियानको आर्थिक र प्रचारको जिम्मा प्राप्त गरेको छु । अं साच्चै म त इमान जमानको मान्छे त्यो तपाईंको पुरानो १० हजार तिर्नु थियो मैले भन्दै बगलीबाट ठूलो बिटो झिकेर १२ हजार दिए । म अचममा परेर सोधें किन १२ हजार कमरेड ? ह्या राख्नुन नाफा दिन नसकेनी ब्याज हो के । र एउटा सानो भर्पाईमा सही गर्नु त, मैले एसो पढें लेखेको रहेछ “भक्तपुरबाट कार्यकर्ता ओसारे बापत रु १२ हजार बुझीलिए ।” मेरो इमानको पैसा उठ्यो भन्ने लाग्यो र सहि गरे । करिब छ महिना पछी उनको एकाएक फोन आयो मित्र आराम छ ? महिले भने ठिक छु । अनि कताबाट सम्झनु भो त ? उनले भने त्यो नयाँ अभियानको कार्यक्रम भक्तपुरमा हुदैछ सहभागी नहुनु है ।
म अचम्ममा परें र सोधें किन मित्र ? उनले भने इनिहरु नकाब धारीहरु हुन । हेर्नुन म जस्तो योग्य मन्छेलाई केन्द्रमा राखेनन । अनि अनेक संका गरे, सबै रसिदको अर्धकट्टी मागे । बरु कम्युनिष्ट पार्टीमा कहिले नबुजाए पनि खास ताकेता हुन्थेन तपाइँको १२ बर्ष अगाडी लिएको पैसा त महिले तिरें, म जस्तो इमन्दार मान्छेलाई संका गर्ने ? त्यो अभियान छाडियो मित्र अब त म लगाएत २ दर्जन साथीहरु झन नयाँ अभियानमा लागेकाछौ । म हाँसे मात्र । अर्को बर्ष ०७५ सालमा एउटा कृषक समुहको राहत तथा अनुदान बितरण कार्यक्रमको प्रमुख अतिथि कुन्नी कुन कोषको उपाध्यक्ष आउने भन्ने सुनेर गैइयो । बाख्रा पालन, उन्नत बीउ बिजन, मल बितरण कार्यक्रम निकै आकर्षक थियो । लामो प्रतीक्षा पछाडि सेतो मोर्डन जीप लिएर दौरा सुरुवाल लगाएर आए प्रमुख अतिथि । संजोगले कार्यक्रम संचालक मै थिए । मैले नमस्ते गर्दै माला लगाए सहभागी सबैले खादा माला लगाइदिए । पहिल्यै आइसकेका मेयर र वार्ड अध्यक्ष र पार्टीका जिल्ला अध्यक्षहरुले पनि स्वागत गरे । अनि सोफामा लगेर राख्दै मैले कार्यक्रम सुरु गर्न अनुमति मागें, उनले कार्यक्रम लिष्ट मागेर हेरे, ठिकै गर्नुभएछ ।
अघिल्लो हप्ताको पल्लो गाउँको कार्यक्रममा मेयर प्रमुख अतिथी बनाएर झन्डै क्यान्सिल भएको मेरो स्तरनै यिनीहरुलाई थहा छैन म त राज्य मन्त्री सरह पो ! म मुसुक्क हाँसेर कार्यक्रम चलाउन थाले । कार्यक्रम पश्चात् मैले घरमा चिया खान जाने प्रस्ताव गरे उनले सहर्ष स्वीकार गरे । चिया खादै अप्ठ्यारो मानी मानी सोधे, उही ४ नंबरको पुरानो पार्टी फर्केर यत्रो जिम्मा पाइएछ । घर, गाडी, पिए सुबिधा राहत वितरण अनुदान गरिबी हटाउने जिम्मा आहा कति लोभलाग्दो जिम्मेवारी । उनले हास्दै भने बाहिर जति चहारेनी आखिर अन्तिममा कामलाग्ने घरकी बुडि रहिछ । पुरानो सबै अनुभवको समस्टीबाट सिकेर नोक्सान नहुने नाफा मात्रै हुने । अपमान नहुने सम्मान मात्र हुने । दु:ख नपाइने सेवा सुबिधा मात्र पाइने । चुनाव नलडी राज्य मन्त्री सरहको जिम्मा । मैले सोधे कसरी पाउनु भयो ? उनले जबाफ दिए सोसल मिडियाबाट नेताको गुलामी सलामी र परेको बेलामा मलामी । हामी मार्क्सवादी, ठोस परिस्थितिको ठोस बिस्लेषण । समय अनुसारको भुमिका र जिम्मेवारी, पुरानो पार्टी जिन्दाबाद नयाँ नेता जिन्दाबद । पुराना साथीहरु हिस्स । हा हा हा गजबले हासे । जेहोस आयातित कमरेडको क्रान्तिकारी छ्लाङ्ग । हामीले मुखामुख गर्यौ ।
बाशुदेव थापा
प्रतिक्रिया दिनुहोस्