काठमाडौँ, १६ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले दल फुटाउनका लागि अपहरण शैलीमा सांसदलाई नियन्त्रणमा लिने घटनाको छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो । बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका उपेन्द्र यादव र शरत्सिंह भण्डारी तथा राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी ‘स्वेच्छाचारी प्रवृत्ति’विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सङ्घीय सांसद डा सुरेन्द्र यादव अपहृत भनिएको प्रकरणमा छानबिन तथा कानूनी कारवाही अगाडि बढाउन माग गरिएको छ । बैठकले कोरोना भाइरसको सङ्क्रमण सन्दर्भमा गरिएको लकडाउन अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्न तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यून गर्नका लागि तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गरेको छ । साथै कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक जाँचलाई तीव्रता दिन बैठकले माग गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्