भक्तपुर, १७ वैशाख । रमेश गिरी । इन्सेक वागमती प्रदेश कार्यालय हेटौडाले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण रोक्ने सहयोग पुर्याउने उदेश्यले आज नगरपालिकाको कार्यालयमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यालयमा इन्सेक वागमती प्रदेश संयोजक कृष्ण गौतम, इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले संयुक्त रुपमा चारथान थर्मल गन र ५०० सर्जिकल मास्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनालाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा गौतमले इन्सेक प्रदेश कार्यालयले कियोस परियोजना अन्तर्गत कोरोना भाइरसको संक्रमण रोकथामका लागि चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो । कोरोना भाइरस संक्रमण रोकथामका लागि सबैको भूमिका उत्तिकै महत्वपूर्ण रहने बताउदै उहाँले जुन ठाउँमा जे आवश्यकता छ, त्यही कुरा पुर्याउन सके र सबैले एकजुट भएर लागे कोरोना बिरुद्धको लडाईमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।
इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले संविधानले परिकल्पना गरेको अधिकारलाई स्थापित गराउदै समस्याको पहिचान र समाधानको पहलमा सक्रिय रहेको बताउनुभयो । स्थानीय निकायसंगको समन्वय र सहकार्यलाई निरन्तरता दिदै जाने बताउदै उहाँले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खाद्य, आवास अधिकार संरक्षणको लागि सहयोगात्मक भूमिका निर्वाह हुदै जाने भनाई राख्नुभयो ।
इन्सेक अन्तर्गत कियोस परियोजनाकी सुभेच्छा खड्काले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सात प्रदेशको परियोजना संचालनमा रहेका पालिकाहरुमा आवश्यकता अनुसारको सामाग्री प्रदान गरिने बताउदै चाँगुनारायण नगरपालिकाबाट यसको सुरुवात भएको बताउनुभयो
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनाले नगरपालिकामा १० वटा स्वास्थ्य संस्था रहेको जानकारी दिदै थर्मल गनको अभावलाई इन्सेकको सहयोगले ठूलो टेवा प्ुगेको बताउनुभयो । नगरपालिकाका सबै स्वास्थ्य केन्द्रलाई तीन सेटका दरले सुरक्षा कवच (पिपिई), मास्क, पञ्जा, औषधिहरु आवश्यक मात्रामा वितरण गरेको जानकारी दिनुभयो ।
बजारमा अभाव र अति मंहगो रहेको थर्मन गन कुनै पनि स्वास्थ्य केन्द्रलाई दिन नसकिएको अबस्थामा इन्सेकले थर्मल गन र मास्क उपलब्ध गराउँदा तत्कालै थर्मल गनबाट शरीरको तापक्रम नाप्न सुरु गरिने बताउनुभयो ।
नगरपालिका भित्र रहेको अन्य ६ वटा स्वास्थ्य केन्द्रलाई पनि नगरपालिकाले थर्मल गन खरिद गरी पठाउने तयारी गरेको जानकारी दिदै उहाँले प्रत्येक स्वास्थ्य केन्द्रमा असारसम्मका लागि पुग्ने औषधि लगायतका स्वास्थ्य सामाग्री पठाइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्