समाचार

अप्रेसन गर्नै लाग्दा उदयपुरको बिरामी भन्ने थाहा पाएपछि सरकारीमा रेफर



काठमाडौँ, २२ वैशाख । प्रसूति बेथाले च्यापेपछि उदयपुर गाईघाट–११ की २९ वर्षीया सरस्वती रौनियारलाई गत मंगलबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरियो । शल्यक्रियाका लागि भोलिपल्ट बिहान अप्रेसन थिएटरमा लगियो । शल्यक्रिया प्रक्रियासमेत सुरु भयो । डाक्टरले रगतको व्यवस्था गर्न लगाए । तर, नोबेलले अपर्झट उनको शल्यक्रिया रद्द गरी कोसी अस्पताल रेफर गर्‍यो । ‘उदयपुर ठेगाना भएका कारण रेफर गर्नुपरेको’ नोबेलको पुर्जीमा खुलाइएको छ ।

डाक्टरले अप्रेसन थिएटरबाट निकालेपछि अर्को अस्पताल लैजानुपरेको सरस्वतीका श्रीमान् प्रकाशले सुनाए । सरस्वतीले कोसीमा अप्रेसनमार्फत दोस्रो सन्तान छोरो जन्माइन् । शल्यक्रिया गर्ने टोलीका डा. जीवन धमलाले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिए ।

नोबेलका जनसम्पर्क अधिकृत नारायण दाहालले भने प्रसूति गराउनुपर्ने महिलामा ज्वरो देखिएपछि रेफर गरिएको दाबी गरे । डा. धमलाले भने ज्वरो नदेखिएको खुलाए । रेफर पुर्जीमा पनि ज्वरो रहेको खुलाइएको छैन । याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।