विश्व

अमेरिकामा कोरोना संक्रमित संख्या १२ लाख नाघ्यो



एजेन्सी, २३ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्यामा १२ लाख नाघेको छ ।

सोमबार मात्र अमेरिकामा कोरोनाका २४ हजार ७१३ नयाँ संक्रिमत फेला परेका छन् । यससँगै कोरोना संक्रमितको कुल संख्या १२ लाख १२ हजार ८३५ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण अहिलेसम्म ६९ हजार ९२१ को ज्यान गइसकेको छ । सोमबार मात्र त्यहाँ १ हजार ३२४ को ज्यान गयो । आइतबार भने यो संख्यामा कमी आएको थियो, त्यसदिन कोरोनाका कारण अमेरिकामा १ हजार १५३ को मृत्यु भयो ।

साथै कुल संक्रमितमध्ये १ लाख ८७ हजार ५५३ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । न्यूयोर्कमा भने पछिल्ला केही दिनमा कोरोना संक्रमणका घटना र दैनिक मृत्युमा कमी देखिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९६ रहेको छ ।

न्यूयाेर्कमा साेमबार ३ हजार ४९१ नयाँ बिरामी फेला परेका छन् । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमित संख्या ३ लाख २७ हजार ३७४ पुगेकाे छ । हालसम्म त्यहाँ २४ हजार ९४४ जनाले ज्यान गुमाइसकेका छन् ।

यता न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ९५१ पुगेको छ । त्यहाँ एकैदिनमा साेमबार ६५ को मृत्यु भयो भने १ हजार ९०७ नयाँ संक्रमित थपिए । याे अघिल्ला दिनहरूकाे तुलनामा कम नै हाे ।