समाचार

सेनाका कर्णेल सवार कारसँगको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौँ, २६ बैशाख । नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान रविभवनमा कलङ्कीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किदा मोरङका बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ । घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्याएपनि उनको उपचारको क्रममा मृत्यु भएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा प्रहरीको नियन्त्रणमा छन् ।