काठमाडौँ, ३१ वैशाख । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।
बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो ।
गृह मन्त्रालयकाको टोली बुधवार काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरमा बन्दोबस्तीको सामान लिएर दार्चुलाको ब्यास नगरपालिका–१ स्थित छाङरुमा पुगेको थियो । दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गरिएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित छाङरुमा लगिएको थियो । बाँकी १३ जना भोली उक्त स्थानमा लगने बताइएको छ । उनीहरुको लागि बन्दोवस्तीका सामान पनि सबै पुगिसकेको छैन ।
चाँडै सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ । यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने यहाँ हुने गरेको छैन । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ ।










प्रतिक्रिया दिनुहोस्