Banner News

सरकारको अर्को राष्ट्रप्रेमी कदम : छाङरुमा १६५ जनाको फौज राख्ने तयारी



काठमाडौँ, १ जेठ । कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको १ सय ६५ जना हुने गुल्म राख्ने राख्ने तयारी गरेको छ ।

हिजो उक्त स्थानमा नै २५ जनाको बोर्डर आउट पोष्ट (बीओपी) राखिए छ । गृह मन्त्रालयको निर्देशन अनुसार सशस्त्र प्रहरी बलले यसको आवश्यक गृहकार्य थालिसकेको स्रोतले बतायो । स्रोतका अनुसार बिहीबारबाट सशस्त्र प्रहरीका इञ्जिनियरले दार्चुलाको छाङरुमा भवन निर्माणका लागि नाप, नक्साको कार्य सुरु गर्नेछन् ।

स्रोतले भन्यो, ‘अहिले १५ रोपनी जग्गा सशस्त्रको नाममा आइसकेको छ, ९ करोड रुपैयाँको लागतमा भवन बनाउँदैछ ।’ यसका लागि केही दिनमै बोलपत्र आह्वान गरिने जनाइएको छ ।

सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले पनि छाङरुमा गुल्म राख्ने गरी तयारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो प्रस्ताव गुल्म नै राख्नुपर्छ भन्ने हो, त्यही अनुसार तयारी भइरहेको छ ।’

छाङरुमा रहेको बीओपीलाई गुल्ममा रुपान्तरण गरेपछि तिङ्करको कावामा थप बीओपी राख्ने गरी योजना बनाइएको स्रोतको भनाइ छ ।  लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ ।