Banner News

सरकारको दुई बर्षे कार्यकाल उत्साहजनक : राष्ट्रपति भण्डारी



काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको कार्यक्रमहरु परिणाममुखी रहेको बताउँदै सरकारको दुई बर्षे कार्यकाल उत्साहजनक रहेको बताउनुभएको छ ।

संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायीत्वले मात्र जनमतको सम्मान हुने बताउनु हुँदै सरकारको सबै काम प्रष्ट देखिन गरि भइरहेको बताउनुभयो ।

समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन सरकारको कार्यशैली सक्षम बनेको बताउँदै उहाँले १० वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन गरी निर्यात गर्ने गरी सरकारले कामहरु गरिरहेको उल्लेख गर्दै कृषि उत्पादकत्व १० वर्षमा दोव्वर गर्ने लक्ष्य लिएको बताउनुभयो ।

कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउँदै उहाँले त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने बताउनुभयो ।

सरकारले महामारीले मुलुकको सामाजिक, आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको भन्दै उनले यसै आधारमा राज्य प्रंणालीको प्रभावकारिता थप वृद्धि गर्दै जाने उल्लेख गर्दै उहाँले आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तिब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने बताउनभुयो ।

कोभिड १९ नियन्त्रणका लागि सरकारले चालेको कदम सराहनीय रहेको बताउँदै उहाँले रोग विरुद्धको संघर्षमा मुलुकमा सबै एकढिक्का हुन पनि आह्वान गर्नु भयो । राष्ट्रपति भण्डारीले बन्दाबन्दीमा मारमा परेकोलाई राहत वितरणमा पनि सरकारले राम्रो भुमिका खेलिरहेको बताउनुभयो ।

नेपालसहित विश्वकै पर्यटन, उद्योग, उत्पादन र वितरण प्रणाली प्रभावित भएको भन्दै उनले यसबाट बेरोजगारीको भयाबह अवस्था सिर्जना हुने देखिएको बताउँदै उहाँले नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण देशको समग्र अर्थतन्त्र, जनस्वास्थ्य र समाजका सबै पक्षमा परेको प्रभावलाई सम्बोधन गर्ने गरी राहतका विषयलाई प्राथमिकताका साथ समावेश गरिएको बताउनुभयो ।