काठमाडौँ, ७ जेठ । भूगोल, नदी, सीमासम्बन्धी जानकारले प्राविधिक रूपमा बलियो भएर भारतसँग यथाशक्य छिटो वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् । सीमा समस्या समाधानका लागि लिम्पियाधुरालाई त्रिदेशीय बिन्दु कायम गर्नुपर्ने उनीहरू बताउँछन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाजसहित नापी विभागका पूर्वमहानिर्देशकहरूसँग छलफल गरी सुझाव लिएकी हुन् । छलफलमा सहभागीले सरकारले मन्त्रिपरिषद्बाट पारित गरेको लिम्पियाधुरासहितको नक्सा अब संसद्बाट अनुमोदित गर्न पनि सुझाव दिए ।
नदीविज्ञ डा. जगतप्रसाद भुसालले लिम्पियाधुरासहितको नक्सा निकाल्नु ऐतिहासिक कार्य भएको बताए । उनले अहिले सरकारले निकालेको नक्सा नै आधिकारिक हो भनेर एक आवाजका साथ जानुपर्ने धारणा व्यक्त गरे । ‘लिम्पियाधुराको चुचुरो ६ हजार मिटरमा छ । त्यो चुचुरोमा जहाँ पानी हाल्दा तीनतिर (नेपाल, भारत र चीन) बहन्छ, त्यही त्रिदेशीय बिन्दु हुन्छ’, उनले भने ।
लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नक्सा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । त्यससँगै भूमि व्यवस्था मन्त्रालय नक्सा सार्वजनिक गर्ने तयारीमा छ ।
नेपालले आफ्नो नक्सा सार्वजनिक गरेपछि भारतसँग वार्तामा बस्दा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल गरिएको सीमाविद् एवं विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीले बताए । भूगोलविद् डा. नरेन्द्रराज खनाल, विभागका पूर्वउपमहानिर्देशक सुरेशमान श्रेष्ठलगायत विज्ञले भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा सिधै ल्याउने वातावरण बनाउन सक्नुपर्ने बताए । त्यो राज्यको माथिल्लो तहबाटै हुनुपर्ने उनीहरूको भनाइ थियो । याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्