काठमाडौँ, १४ जेठ । संविधान संशोधन विधेयक भोलि बुधबार प्रतिनिधिसभामा पेश हुने भएसँगै बढीमा एक साताभित्र संविधान संशोधन विधेयक पारित गरिसक्ने तयारी सरकार र संसद सचिवालयको छ ।
लिम्पियाधुरा कालापानी र लिपुलेकलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको सरकारले त्यसअनुसार निसान छाप संशोधन गर्न शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो । सरकार र संसद सचिवालयले बढीमा एकहप्ताभित्र संशोधन विधेयक पास गर्ने तयारी गरेको छ । नियमावली निलम्बन गरेर संशोधन विधेयक ‘फास्ट ट्र्याक’ मा पास गर्न सभामुख अग्निप्रसाद सापकोटाले दलहरूसँग परामर्श गरिरहनुभएको छ ।
प्रक्रिया छोट्याएर अगाडि बढ्नेबारे संसद सचवालयसँग छलफल भएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘७२ घण्टाको समय छोट्याउन सकिन्छ । एकै दिन एकभन्दा बढी बैठक राखेर प्रक्रियालाई छिटो र छोटो गराउन सकिन्छ । यसबारे छलफल भएको छ ।’
१५ जेठमा सरकारले आगामी वर्षको बजेट पेश गर्ने छ । त्यसकारण संविधान संशोधन विधेयकमाथि छलफल गर्न १७ गते संसदको बैठक बोलाउने तयारी छ । यसबीचमा संविधान संशोधन विधेयकमाथि संशोधन, प्रतिवेदन तयार लगायतका काम सकाउने र १७ वा १८ गते प्रतिनिधि सभाबाट पारित गरेर राष्ट्रिय सभामा पठाउने योजना छ । राष्ट्रिय सभाबाट एकदुई दिनमा सबै प्रक्रिया पुरा गरेर पारित गराउने र पुनः प्रतिनिधि सभाले स्वीकार गरेर प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने संसल सचिवालयको तयारी छ । यसका लागि बढीमा एक साता समय लाग्न सक्ने आंकलन सरकार र संसद सचिवालयको छ ।









