काठमाडौँ, १४ जेठ । साउदीले बिहीबारदेखि कर्फ्यु खुकुलो बनाउँदै लैजाने भएको छ ।
उदीमा नेपाली दूतावासका अनुसार कोरोना सङ्क्रमण रोकथामका लागि साउदीले जारी गरेको झण्डै दुई महिने लामो कर्फ्यु विभिन्न चरणमा विभाजन गरी बिहीबारदेखि खुकुलो बनाइएको छ ।
पहिलो चरणमा मे २८ देखि ३० मेसम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि दिउँसो तीन बजेसम्म खुलाउने र बाँकी समय लकडाउन हुने त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
खुल्ला गरिएको समयमा खुद्रा तथा होलसेल पसलहरु र मलहरु खुल्नेछन् । तर दुरी कायम गर्नुपर्नेछ भने पार्लर, र्सलुन, खेलकुद केन्द्रहरु, जिम र हल लगायत भने बन्द रहनेछ ।
त्यसैगरी दोस्रो चरणमा मे ३१ देखि जुन २० सम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीच बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म आउजाउ गर्न पाइन्छ । कोरोना सङ्क्रमण नियन्त्रणसम्बन्धी सबै गाइडलाइनहरु पूर्ण पालना गर्ने गरी मन्त्रालय, सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिइएको छ ।
तर यस क्षेत्र र प्रान्तबीच चल्ने सार्वजनिक यातायातका साधनहरु भने बन्द नै रहनेछन् । रेष्टुरेन्ट, फुड र बेभरेजहरु खुल्ने भएका छन् तर पार्लर, सैलुन, खेलकुद केन्द्रहरु, जिम र हल लगायत भने दोस्रो चरणमा पनि बन्द रहनेछन् । तेस्रो चरणलाई जून २१ पछिको अवधिमा मानिएको छ । यस अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुल्ला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा देशलाई लैजाने योजना बनाएको साउदी प्रेसलाई उल्लेख गर्दै त्यहाँ रहेको दूतावासले जनाएको छ ।
लकडाउन खुकुलो बनाउँदै लाने निर्णय गरे पनि अन्तर्राष्ट्रिय उडान भने कहिले खुल्छ भनेर साउदीले जनाएको छैन । साउदीमा अहिले पनि कोरोना सङ्क्रम दिनमा दुई हजार जनाका दरले बढिरहेको छ ।
साउदीमा अहिलेसम्म ७६ हजार ७२६ जनामा कोरोना सङ्क्रमण भएको छ । ४८ हजार ४५० जना निको भएका छन् भने २७ हजार ८६५ जनाको अस्पतालमा उपचार भइरहेको छ । ४११ जनाको कोरोनाको कारण ज्यान गएको छ ।










प्रतिक्रिया दिनुहोस्